चैत ७, धम्बोजी (रासस) | बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ ।

रु ४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो बन्दै गरेको पुलको पूर्वपट्टिको किनारमा कटान भइरहेको र ७५ मिटर तटीय भागको पिल्लर नभएको र भरपर्दो तटबन्ध नभएका कारण नदीले जुनसकै बेला पानीको धार परिवर्तन गरेर पुल नै धरापमा पर्ने खतरा बढेको प्रदेश सांसद दिपेश थारूले बताउनुभयो ।

वर्षात्को समयमा पुललाई बाढीले असर पार्नसक्ने देखिन्छ । हुलाकी सडक आयोजनाअन्तर्गत पर्ने कर्णालीको पुल जोगाउन थप अर्को पिल्लर बनाउन आवश्यक बजेट केन्द्रसँग माग गरिए पनि अहिलेसम्म निकासा नभएको आयोजना प्रमुख युवराज पोखरेलले बताउनुभयो । पुलको पिल्लर नबने पुल नै खस्ने प्राविधिक टोलीको प्रतिवेदनमा उल्लेख छ ।

रकम नपठाइएपछि पिल्लर निर्माणको काम अघि बढ्न सकेको छैन । चार वर्षअघि निमार्ण गरिएको पुलको पूर्वतर्फको किनारा कटान गर्दै लगेपछि पुल जोखिममा परेको उहाँको भनाइ थियो । आयोजनाका अनुसार पुल जोगााउन आवश्यक पर्ने थप एक पिल्लर बनाउन प्राविधिक टोलीले छ महीनाअघि नै प्रतिवेदन पेश गरेको थियो ।

विसं २०७३ मा आएको बाढीले पुलमा भ्वाङ पारेकामा टालटुल पारिएको छ । हस्तान्तरण नहँुदै पुल जोगाउन बनाएको तटबन्धको दक्षिणपूर्वी भेग कटान गर्दै नदी अन्यत्रबाट बग्न थालेको छ ।

March 21, 2019
कैलाली - KLL, बर्दिया - BRD, समाज
जोखिममा कर्णाली पुल
By साझासवाल
3 मिनेट पढाइ