पढ्न करिब 2 मिनेट लाग्छ

वैशाख २०, धनगढी । कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजारकी २२ वर्षीया रुकसरा कुरैसीको हत्या गरेको आरोपमा उनका श्रीमान् साहवे आलमलाई पक्राउ गरिएको छ ।

अत्तरिया बजारमा भाडामा बसेर राँगा–भैँसीको कारोवार गर्दै आएका आलमले माइती पक्षबाट दाइजो नदिलाएको भन्दै श्रीमती रुकसराको हत्या गरेको आरोप लागेको छ । रुकसराका बुबा इस्लाम अहमद कुरैसीले छोरीको घरपरिवारका सदस्यको मिलेमतोमा दाइजो नदिलाएको निहुँमा हत्या गरिएको आरोप लागएका छन् । रुकसराको माइती घर नेपालगञ्ज हो । घाँटीमा निल डाम र जिब्रोमा घाउ रहेको अवस्थामा आज प्रहरीले उनको शव फेला पारेको थियो ।

घटनाको अनुसन्धान गर्न रुकसराका देवरलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । “दाइजो स्वरुप मोटरसाइकल र रु तीन लाख देउ भनेर घरमा हैरान पारे भनेर छोरीले फोन गरेकी थिइन”, रुकसराका बुबा कुरैसीले भन्नुभयो, “छोरीले फोन गरेको आधा घण्टापछि घरमै झुण्डिएर आत्महत्या गरेको भन्ने जानकारी दिइयो ।”

रुकसराको हत्यामा घर परिवारका सदस्यको नै हात रहेको भन्दै कानूनी कारवाहीका लागि कुरैसीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको हो । मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको छ । रुकसराको नौ महीना अघि विवाह भएको हो । भारतको नानपरा घर भएका आलम लामो समयदेखि अत्तरियामा मासुको व्यापार गर्दै आएका थिए ।