2026-07-25 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्ष शुरु भयो, भेटिएन भित्तेपात्रो

पूर्णप्रसाद मिश्र, वैशाख २, काठमाडौँ (रासस) । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ शुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी शुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन । बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोनाको त्रासले प्रभाव पारेको थियो । चीनको वुहानमा पुसमै शुरु भएको कोरोनाको प्रभावसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको थियो ।

चीनमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीलाई स्वदेश ल्याएपछि धेरै नेपालीमा त्रास फैलिएको थियो । यो त्रास र सबै काम अन्तिममा गर्ने हाम्रो बानीका कारण पनि धेरै नेपालीले बजारबाट पात्रो किनेका थिएनन् । चैतको मसान्तसम्म किन्ने सोचमा रहेकालाई चैत ११ गतेदेखि नै शुरु भएको बन्दाबन्दी चैत मसान्तसम्म पनि नखुल्दा किन्ने अवसर जुटेन ।

कागेश्वरी मनोहरा नगरपालिका–५ का विदुर सापकोटा आफ्नो घरमा पात्रो भए पनि भित्तेपात्रो नहुँदा नयाँ वर्ष आए पनि नआएजस्तो लागेको बताउनुहुन्छ । गते, बारलगायत विषय हेर्न प्रयोग गरिने पात्रो भित्तामा नहुँदा हेर्न असहज भएको उहाँको अनुभव छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले प्रत्येक महिनाको सङ्क्रान्तिका दिन गुरु पुरोहितबाट मास फल सुन्ने गर्छन् । घरमा पात्रो नभएको र बन्दाबन्दीका कारण गुरु पुरोहित आउन नसकेकाले वैशाख सङ्क्रान्तिमा यो परम्परामा समेत प्रभाव प¥यो । सौर मासअनुसार वर्षका १२ सङ््क्रान्तिलाई पर्वका रूपमा मनाउने शास्त्रीय विधि छ ।

वैशाख, साउन र माघ महिनाको सङ्क्रान्ति त अझ विशेष मानिन्छ । वैशाखमा सूर्य मेष राशिबाट भ्रमण शुरु गर्ने दिन अर्थात् विक्रम संवत्अनुसार नयाँ वर्ष, साउन सङ्क्रान्तिदेखि दक्षिणायन र माघ  सङ्क्रान्तिदेखि उत्तरायण शुरु हुने भएकाले यी तीन  सङ्क्रान्तिलाई विशेष रूपमा मनाउने प्रचलन पनि प्राचीनकालदेखि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

वैशाख १ गतेलाई वर्षकै पहिलोका साथै जेठो दिनका रूपमा पनि लिइन्छ । यति महत्व भएको दिन सङ्क्रान्ति फल सुन्न नपाउँदा गोकर्णेश्वर नगरपालिका–६ का ध्रवप्रसाद बराललाई नरमाइलो लाग्यो । घरमा पात्रो नभएको र बन्दाबन्दीका कारण गुरु पुरोहित पनि आउन नसकेका कारण उहाँले त्यो अवसर गुमाउनुभएको हो । 

कति नेपालीले भने प्रविधिलाई उपयोग गरेर भए पनि यो अवसरलाई गुम्न दिएनन् । पात्रोमा रहेको मासिक फलको तस्वीर खिची सामाजिक सञ्जालमार्फत् आफन्तबाट मगाएर पनि धेरैले सङ्क्रान्ति फल सुन्न सकिएको सुनाए । बन्दाबन्दीले गर्दा यस वर्ष प्रविधिलाई उपयोग गरी मासिक फल सुन्न सकिएको शङ्खरापुर नगरपालिका सुनटोलका रामप्रसाद पौडेलले बताउनुभयो । भित्तामा झुण्ड्याउने पात्रो नहुँदा उहाँलाई पनि नयाँ वर्ष आएजस्तो लागेको छैन ।

नेपालमा प्रकाशित भइरहेको पात्रोमध्ये सबैभन्दा पुरानो तोयनाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले सामाजिक सञ्जालमा भित्तेपात्रो तयार भएर घर एवं प्रेसमा थुप्रिए पनि बजारमा पठाउन नसकिएको भन्दै सामाजिक सञ्जालमा दुःख प्रकट गर्नुभयो । पन्तले चतुर्भज प्रकाशनमार्फत पात्रो, सजिलोका लागि दुईथरि भित्तेपात्रो र गोजीपात्रो पनि प्रकाशन गर्दै आउनुभएको छ ।

विसं १९४७ मा तोयनाथ पन्तले शुरु गर्नुभएको पात्रोलाई उहाँका चौथो पुस्ताले भित्तेपात्रो, गोजीपात्रोसहित निरन्तरता दिनुभएको हो । यस वर्ष तयार भएको भित्तेपात्रो उपभोक्ताका पु¥याउन नसकेकामा पन्त परिवारलाई नरमाइलो लागेको छ ।

सामाजिक सञ्जालमार्फत क्षमा माग्दै उहाँले चिनजानका मानिसलाई आफूले वैशाख महिनाको भित्तेपात्रोको पेज सामाजिक सञ्जालको म्यासेन्जरमार्फत ग्राहकलाई दिएको बताउनुभयो । पन्तलाई धेरै मानिसले फोन गरी पात्रो पहिले लिए पनि भित्तेपात्रो नपाएकामा गुनासो गरे । फोनबाटै माफी माग्दै बन्दाबन्दी खुल्नेबित्तिकै सेवा उपलब्ध हुने प्रतिबद्धता आफूले जनाएको पनि उहाँले बताउनुभयो ।

सूचना विभागबाट प्रकाशन हुने वर्षभरको बिदालगायतको आधिकारिक विवरण हुने भित्तेपात्रो यस वर्ष पाउन नसकिएको धेरै मानिसको गुनासो छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिसँगको सहकार्यमा विभागले तिथि, मिति चाडपर्वलगायतको आधिकारिक जानकारी पनि दिने गरेको छ । 

समितिबाट स्वीकृत भई पात्रो प्रकाशन भएर बजारमा गएपछि त्यसैका आधारमा धेरै सरकारी कार्यालय, सङ्घसंस्था, बैंक, सहकारीलगायत वित्तीय संस्थाले प्रकाशन गर्ने गरेका भित्तेपात्रो पनि यस वर्ष प्रभावित भएका छन् । देश सङ्घीयतामा गएसँगै प्रदेश सरकार र स्थानीय तहले पनि भित्तेपात्रो प्रकाशन गर्न थालेका थिए । चैतको अन्तिममा पात्रो एवं भित्तेपात्रो किन्नेले भने यस वर्ष बन्दाबन्दी हुँदा सेवा पाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ