वैशाख १८, काठमाडौँ | व्यवसायी सुलभ अग्रवाल जिल्ला अदालत काठमाडौंबाट धरौटीमा रिहा भएलगत्तै अदालत परिसरबाटै पुन: पक्राउ परेका छन् । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको मुद्दामा धरौटीमा रिहा भएका अग्रवाललाई प्रहरीले पुन: सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका हुन् ।
जिल्ला अदालतका न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतबाट रिहा भएलगत्तै पुनः प्रहरीले पक्राउ गर्नु अदालतको अपहेलना भएको अग्रवालको तर्फबाट बहस गरिरहेका अधिवक्ता परशुराम कोइरालाले बताएका छन् । महानगरीय प्रहरीले परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरण मुद्दामा अग्रवाललाई अदालतबाटै पक्राउ गरेपछि अधिवक्ता कोईरालाले कुनै पनि पक्राउ पूर्जी नलिई अदालत परिसरबाटै पक्राउ गर्नु कानूनको उपहास भएको बताएका छन् ।
अग्रवाल विरुद्ध कलोबजारी तथा सामाजिक अपराध अन्तर्गत तीन वटा मुद्दा दार्ता भएको थियो । अदालतले प्राप्त प्रमाणको आधारमा जेष्ठ १८ गते अदालतमा हाजिर हुनेगरी धरौटीमा रिहा गरेको थियो ।
अग्रवाललाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत चैत २५ गते ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँ बेच्न खोजेको आरोपमा पक्राउ गरेको थियो ।