२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू

१ मंसिर २०७७, सोमबार ०४:५१

हिमांशु चौधरी । मङ्सिर १, जनकपुरधाम । मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा बहिनी/दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमासम्म मनाइन्छ ।

द्वितीया तिथिका दिन बहिनी/दिदीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरूको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ । मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति  हुन्छन् ।


संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउनुहुन्छ । उहाँका अनुसार भाइ बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइको बहिनी र पति पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ ।

के छ सामा चकेवामा ?

सामा स्त्री र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् । छठको खरना वा पारणदेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथीहरू मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गर्दछन् ।

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पति पत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया,  सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् ।

सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी बहिनीले मनोवाञ्छित फल प्राप्तिको कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछन् र कुनै बेला चुगलाको मुख आगोले पोल्छन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छन् ।

कथा तत्व

मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखिनै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्मपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइ बहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ ।

स्कन्द पुराणमा सामा चकेवाको कथा सप्रसङ्ग उल्लेख गरिएको छ । जसअनुसार श्यामा (सामा) र चकेवा पतिपत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा बस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कष्णकहाँ गई चुक्ली लगाए, “श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे !” कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए । भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा) को पूर्व रूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ ।

चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे  । चरा भएकी पत्नी सामासँग बस्न  थाले । त्यसै क्रममा उनीहरूको बास रहेको वृन्दावनमा विरोधीहरूले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानव रूपमा अवतरण भएको आख्यान रहेको छ ।

केही गीत

यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ । मानव मात्र होइन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जङ्गली जीवनको अद्भूत समन्वय रूप देखिन्छ ।

समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगला जस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले होइन, हातले सञ्चालन हुन्छन् र महिलाहरू सूत्रधारका रूपमा जीवनका गाथाहरू लोक धुनको आधारमा गाउँछन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ ।

महिलाहरू जब आ–आफ्नो घरबाट डालामा मूर्तिहरू राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनीहरू गाउँछन् :

डालाले बहार भेली, बहिनी से पलाँ बहिनो

फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी…………..।

भाइ र उनका परिवारजनको मङगल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण सङ्केत गर्दछ । यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इङ्गित गरेको प्रस्ट छ :

सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा

लागि गेल पनमा दुकान………………. ।

जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाती त्यसको जुँगा भनी राखिएको सनपाट (जुट) मा दाहिने हातले आगो लगाउँदै निभाउँदै महिलाहरू यस प्रकारको गीत गाउँछन् :

धान–धान–धान, भइया कोठी धान

चुगला कोठी भुस्सा ……।

प्रतीकात्मक रूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्ने काम गरिएको छ ।

सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् । वृन्दावनमा आगो लाग्दा निभाउने कोही  नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ : 

वृन्दावनमे आगि लागै

कोइ ने मिझावे हे

हमर भैया फलना भैया

दौडि –दौडि मिझाबे हे………..।

सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ :

सामचको, सामचको अइह हे

जोतल खेतमे बइसिह हे…………….. ।

पूर्णिमाका दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आई बस्नु है भन्दै सबै माटोका पात्रहरूको विसर्जन गरिने चलन रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य