टी-२० अभ्यास खेलमा ह्युस्टन हरिकेन्समाथि नेपालको जित

Posted on: 25 May, 2024

जेठ १२, काठमाडौँ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो टी-२० अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई ६ रनले पराजित गरेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले हराएको  हो।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो । हुरीकेन्सका लागि लाहिरु मिलान्थालेसर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रन बनाए  ।

नेपालका बोलर सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए भने  करण केसीले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यस्तै  रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले १-१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो। नेपालका लागि अनिल कुमार शाहले ३० बलमा ४७ रन बनाएका थिए । कप्तान रोहितकुमार पौडेलले २३ तथा गुलसन झा २० रनमा आउट भएका थिए । त्यस्तै नेपालका लागि ओपनर कुशल भुर्तेल ६ बलमा १ रन तथा आसिफ शेख ६ बलमा ४ रनमा आउट भएका थिए । कुशल मल्ल १२ रन बनाएर आउट भए |

नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!