काठमाडौँ | राष्ट्रिय समाचार समिति (रासस)का उपसम्पादक कमलकुमार बस्नेत सम्मानित हुनुभएको छ । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा आज यहाँ आयोजित समाजवादी ट्रेड युनियन महासङ्घ नेपालको चौथो महाधिवेशनको अवसरमा बस्नेतलगायतका सञ्चारकर्मीलाई सम्मानपत्र प्रदान गरिएको हो ।
सम्मानित हुने अन्य सञ्चारकर्मीमा न्यून २४ का नवराज चालिसे, रातोपाटी डट कमका राजकुमार सिग्देल, अन्नपूर्ण पोष्ट दैनिकका राधा खनाल, कान्तिपुर टेलिभिजनका सुमन पन्थ र मेगा टेलिभिजनका कृष्णनन्द भट्ट रहनुभएको छ । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय भएका सञ्चारकर्मीलाई सम्मान गरिएको महासङघले जनाएको छ ।
त्यसअवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले सबै क्षेत्रका मजदुर एकजुट हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारले मजदूरहरुलाई सहुलियत रुपमा रासन कार्ड उपलब्ध गराउनुपर्ने माग उहाँले गर्नुभयो । उहाँले २०८२ साल तलब बढाउने वर्ष भएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक मासिक रु ३० हजार बनाउन आवश्यक भएको र यसमा सबैको साथ जरुरी भएको बताउनुभयो ।
समाजवादी ट्रेड युनियन महासङघ नेपालका अध्यक्ष नवराज दाहालले सबै क्षेत्रका मजदुर एकजुट हुन आवश्यक रहेकाले मजदुरका माग र अधिकारको रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठलगायतका सरोकारवालाले श्रमिकहरुको महत्व तथा हक र अधिकारबारे चर्चा गर्नुभएको थियो ।