काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आतंक’ मच्चाएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुने घटनामा मानव अधिकारको चरम उल्लंघन भएको दाबी गरे।
‘सरकारले राज्य आतंक अत्याधिक रूपमा प्रयोग गरिरहेको छ,’ शाहीले भने, ‘४० दिनदेखि रविन्द्र मिश्रसहितका साथीहरू थुनामा छन्।’उनले तीनकुनेमा भएको घटनामा राज्य र विभिन्न मानव अधिकार संगठनहरूले नै मानव अधिकार उल्लंघन गरेको आरोप लगाए।
‘पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति गठन गर्ने सरकार सविन महर्जनलाई टाउकोमा गोली हानी मारिएपछि किन मौन छ?’, शाहीको प्रश्न थियो। उनले सविन महर्जनको मृत्युबारे न्यायिक छानबिन समिति तत्काल गठन गर्नुपर्ने माग गरे। उनले राज्य र सरकारमा बस्ने व्यक्तिले गोली हान्न पाउने अधिकार यदि राज्यले नै दिएको हो भने आफूहरू पनि सत्तामा पुग्ने बताए।