2026-09-08 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसीको गाडी र कोठामा बसेर जनताको पीडा बुझ्न सकिँदैन : हर्कराज राई

2026-08-11

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरेका हुन्।

प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाउँदै सांसद राईले विगत साढे दुई महिनादेखि संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि उनी पन्छिरहेको आरोप लगाए। देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक नाममा भइरहेका झगडा, आगजनी र धम्कीका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले यस्ता घटनाका दोषीलाई उजुरी गर्दा समेत कारबाही नहुनुले सरकारको कमजोरी उदाङ्गो भएको बताए।

मन्त्रीहरू मन्त्रालयको वातानुकूलित (एसी) कोठामा सीमित भएको तर सडकमा ग्यासको लाइनमा बस्ने र माइतीघरमा न्यायका लागि आन्दोलन गर्ने नागरिकको पीडा बुझ्न नसकेको उनको गुनासो थियो। वैदेशिक रोजगारीका नाममा युवाहरू ठगिएको र विमानस्थलमा युवाहरूको लाम लाग्नुले देशमा अवसरको चरम अभाव देखाएको उल्लेख गर्दै उनले ठगी गर्नेहरूलाई कारबाही गर्न सरकारलाई कसले रोकेको भनी प्रश्न गरे। त्यस्तै, वर्षौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुम्बासी र वास्तविक भूमिहीनले अझै धनीपुर्जा नपाएको विषयमा भूमि सुधार मन्त्रालयले देखाएको आलटालप्रति पनि उनले कडा आपत्ति जनाए।

अध्यक्ष राईले भने, ‘हामी देशमै छौँ, तर कस्तो देशमा छौँ ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने अवस्था आएको छ । नागरिक सुरक्षित छैनन्, न्यायमा पहुँच छैन, सेवा–सुविधा र अवसर छैन । राज्यको पहिलो दायित्व नागरिकलाई सुरक्षा दिनु हो । धर्म, जात वा अन्य विषयका नाममा आगजनी, तोडफोड र धम्की भइरहेका छन् । यस्ता गतिविधिमा संलग्नलाई राजनीतिक आस्था नहेरी कडा कारबाही गर्नुपर्छ । तराई–मधेस लगायत असुरक्षित महशुस गरिरहेका नागरिकलाई सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्छ । न्यायको अवस्था पनि त्यस्तै छ । महिनौँदेखि माइतीघरमा नागरिकहरू आफ्ना माग लिएर बसेका छन् । मन्त्रीहरू एसीको कोठामा बसेर देश बुझिँदैन । खेतमा, कारखानामा, सडकमा र आन्दोलनरत नागरिकबीच पुगेर उनीहरूको पीडा बुझ्नुपर्छ । सेवा–सुविधाको कुरा गर्दा ग्यासका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ । हामी एसीको गाडी र कोठामा बसेर जनताको पीडा बुझ्न सक्दैनौँ । अवसरको अवस्था झन् गम्भीर छ । दैनिक ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिन बाध्य छन् । विदेश जाने नाममा ठगी भइरहेछ, तर ठगी गर्नेहरूमाथि प्रभावकारी कारबाही भएको छैन । सरकारसँग हाम्रो माग स्पष्ट छ । आश्वासन होइन, एक्सन चाहिन्छ । धार्मिक स्थलमा आगजनी, तोडफोड र हिंसा गर्ने जोसुकै होस्, कानूनअनुसार तत्काल कारबाही हुनुपर्छ । कानून बनाउने यही संसद हो । अपराधीलाई संरक्षण होइन, कानूनी शासन र दण्डहीनताको अन्त्य चाहिन्छ । त्यसैगरी, पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुम्बासी तथा भूमिहीन नागरिकलाई धनीपुर्जा दिने विषयमा अब नाटक होइन, परिणाम चाहिन्छ । स्थानीय तह वा अन्य निकायलाई दोष दिएर हुँदैन। संघीय सरकारले समन्वय गरेर समस्या समाधान गर्नुपर्छ । प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, नैतिक र पदीय जिम्मेवारी लिनुहोस्, संसदसँग संवाद गर्नुहोस् र जनताको बीचमा जानुहोस् । देशलाई अहिले भाषण र आश्वासनभन्दा सुरक्षा, न्याय, सेवा, अवसर र ठोस कार्य चाहिएको छ । सरकार बलियो हुनुपर्छ, तर त्यो शक्ति जनताको पक्षमा प्रयोग हुनुपर्छ ।’

खेलकुद क्षेत्रको उपेक्षाको प्रसङ्ग निकाल्दै अध्यक्ष राईले चीनमा आयोजित प्रतियोगिताका क्रममा घाइते भएका खेलाडी आशिष राईको उपचारमा राज्यले सहयोग नगरेकोमा आक्रोश व्यक्त गरे। अन्तर्राष्ट्रिय खेलाडीहरू विदेशमा अलपत्र पर्नु र उपचार नपाएर रुनुपर्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित