
काठमाडौँ | बेनीघाट रोराङ गाउँपालिका-७ स्थित जोखिमयुक्त कृष्णभीरमा पृथ्वी राजमार्ग सुचारु गर्न सडक मर्मत तथा पुनःनिर्माणको काम सुरू भएको छ। हाल सडक क्षेत्रमा सरसफाइको काम भइरहेको छ। सडकमा रहेका दुई तहको ग्याबिन हटाएपछि सडक खन्ने तथा पुनःनिर्माणको काम अघि बढाइने तयारी छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ। मन्त्री लम्सालले पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको जानकारी दिए। उनले रुख कटानको काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ। बाढी तथा त्रिशूली नदीको कटानका कारण सडकको ठूलो भाग भासिएपछि कृष्णभीरमा यातायात अवरुद्ध भएको हो। सडक सञ्चालनमा ल्याउन मर्मत तथा पुनःनिर्माणको काम अघि बढाइएको हो।