
काठमाडौँ | कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग(एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आज बिहान करिब ११ः०० बजे माथिबाट अचानक पहिरो खसेर आयोजनामा कार्यरत दुई जना घाइते भएका हुन् ।
घाइते दुवै जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । घटनालगत्तै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याएको जनाउँदै दुवै जनाको अवस्था गम्भीर रहेको प्रशासनले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी सार्दिखोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा उद्धारका लागि खटिएको थियो । घटनाबारे थप अनुसन्धान तथा विवरण आउन बाँकी छ ।