
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले परिवर्तनका लागि भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेलाई तत्काल न्याय दिन सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै खतिवडाले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरू न्यायका लागि सरकारको ढोका ढकढक्याइरहे पनि सरकार गम्भीर नभएको आरोप लगाइन् ।
उनले प्रधानमन्त्री शहीदको रगतमा बनेको परिवर्तनको कुर्सीमा रहेको उल्लेख गर्दै शहीद परिवारको पीडा सुन्न समय किन नभएको भन्दै प्रश्न गरिन् ।‘जुन आन्दोलनले देशमा परिवर्तन ल्यायो त्यही आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरू आज पनि न्यायको लागि ढोका ढकढक्याइरहनुभएको छ । प्रधानमन्त्रीज्यू शहीदको रगतमा बनेको परिवर्तनको कुर्सीमा हुनुहुन्छ । तर ती शहीदका परिवारको पीडा सुन्न समय किन भएन ? उनीहरूको प्रश्न सरल छ, न्याय कहिले पाउँछौँ ?’ उनले भनिन् ।
खतिवडाले जेनजी आन्दोलनका क्रममा पक्राउ परेर जेलमा रहेका आन्दोलनकारीलाई तत्काल रिहा गर्नसमेत माग गरिन् ।‘म सरकारसँग स्पष्ट जवाफ र ठोस कार्यान्वयनको माग गर्न चाहन्छु । जेलमा रहेका जेनजीहरूलाई तत्कालै रिहा गरियोस् । हरेक वर्ष २३ भदौलाई आँशु झार्ने र फूलमाला चढाउने दिन मात्र नबनाइयोस् ।’ उनले भनिन् ।
उनले हरेक वर्ष २३ भदौलाई शहीदको सम्झनामा आँशु झार्ने र फूलमाला चढाउने दिनमा मात्र सीमित नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।