काठमाडौँ | त्रिपुरेश्वरमा बसमा भएको आगलागी घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले समिति गठन गरेको छ । एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिलाई घटनाबारे अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार आगलागी भएको थियो । ट्राफिक प्रहरीसँग विवादपछि बस चालक काभ्रेका २५ वर्षीय दावा लामाले आफूलाई बसभित्र थुनेर आगो लगाएको पाइएको छ । गम्भिर घाइते उनकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थाबारे अस्पतालले औपचारिक जानकारी दिएको छैन । तर चिकित्सकहरूले अवस्था चिन्ताजनक रहेको बताएका छन् ।