काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी ओलीलााई हटाउन खोजेको नभई पुनर्गठनको सुझावलाई गलत रूपमा बुझिएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई हटाउन खोजेको रूपमा बुझ्न नहुने बताएको एक नेताले जानकारी दिए ।
पोखरेलले भने, ‘अध्यक्षले मैले हटाउने कुराको बुझ्नुभएछ । कार्यदलमा आएको सुझावको आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ । उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो । दूरी बढ्यो ।’
आजको बैठक पनि अध्यक्ष केपी शर्मा ओली आफैँले सञ्चालन गरिरहेका छन् । सुरूमा ओलीले पदाधिकारीहरुलाई बोल्न समय दिएका थिए । उनले एकजना पदाधिकारीलाई १५ मिनेट समय तोके । तर, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले मात्र कुरा राखेका छन् । अहिले केन्द्रीय सदस्यहरूले वर्णानुक्रमअनुसार बोलिरहेका छन् । केन्द्रीय सदस्यलाई ३ मिनेटको समय छुट्याइएको छ ।