
काठमाडौँ | वीरगन्जसँग जोडिएको भारतीय बजार रक्सौलमा अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। रक्सौल हरैया थाना क्षेत्रअन्तर्गत पर्ने नेपाली स्टेशन क्षेत्रमा गत अक्टोबर २ को बिहान अरिङ्गालको समूहले बालबालिकामाथि टोकेको थियो। स्थानीयका अनुसार पुरानो फुसको घरमा खेलिरहेका बालबालिकामाथि अचानक अरिङ्गालको झुन्डले आक्रमण गरेको हो।
अरिङ्गालले टोकेर सख्त घाइते भएका चारै जना बालबालिकालाई तत्काल रक्सौलस्थित डंकन अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा ७ वर्षका लखन कुमार मल्लिकको आइतबार साँझ मृत्यु भयो। लखनका बुबा स्वर्गीय इन्दल मल्लिक हुन्। यसअघि सोही अस्पतालमा उपचारकै क्रममा विजय मल्लिकका २ वर्ष ६ महिनाका छोरा करण कुमार मल्लिकको गत शुक्रबार मृत्यु भएको थियो। घटनामा ४ वर्षका अरुण कुमार मल्लिक र ३ वर्ष ६ महिनाका रक्की कुमार मल्लिक गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको डंकन अस्पतालमै उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा ‘स्वच्छ रक्सौल’का अध्यक्ष रणजीत सिंहले कार्यपालक पदाधिकारी मनीष कुमारलाई जानकारी गराएका थिए। त्यसपछि नगरपालिकाका तर्फबाट मृतक बालकको अन्त्येष्टिका लागि तत्काल ५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइयो। अति विपन्न तथा महादलित डुम समुदायका बालबालिका यो दुर्घटनाको शिकार बनेपछि पीडित परिवार र सिङ्गो बस्ती शोकमा डुबेको छ। स्थानीयवासीले मृतकका परिवारलाई सरकारी नियमअनुसार क्षतिपूर्ति उपलब्ध गराउनुका साथै घाइते बालबालिकाको उपचारमा आवश्यक सहयोग गर्न प्रशासनसँग माग गरेका छन्।