
काठमाडौँ | दशैं तथा तिहारका लागि असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ । यातायात विभागमा यातायात व्यवसायी र सरोकारवालाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
अग्रीम टिकट बुकिङ खुला भएसँगै चाडपर्वको अवधिभर देशभरका सवारी साधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ। चाडपर्वका बेला काठमाडौँ उपत्यकाभित्र र बाहिरिने सडकमा ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौँ आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ ।
खाद्यान्न, औषधि, इन्धन र दूध जस्ता अत्यावश्यक सामग्री बोकेका गाडीहरूलाई भने यो रोक लागू हुने छैन । दशैँ नजिकिँदै गर्दा अग्रीम टिकट बुकिङ नखुलेका कारण अन्योलमा रहेका यात्रुलाई यसले राहत दिएको छ । सडकको अवस्था र मौसमलाई समेत ध्यानमा राखेर टिकट बुकिङको मिति तय गरिने बताइएको छ ।