
काठमाडौँ | नजिकिँदो चाडपर्वको समयमा हवाई भाडा अत्यधिक वृद्धि भएको गुनासो बढेपछि सरकारले आन्तरिक हवाई भाडादरबारे चासो देखाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो।
क्यानमा भएको छलफलमा चाडपर्वका समयमा स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न तथा गराउन वायुसेवा कम्पनीहरू सहमत भएका छन्। साथै, यात्रुले सहज रूपमा जानकारी पाउने गरी लागू हुने भाडादरसम्बन्धी स्पष्ट सूचना सबै बिक्री तथा वितरण प्लेटफर्ममा सार्वजनिक गर्ने निर्णय भएको छ। यसअघि विसं २०७२ मङ्सिर २७ गते तत्कालीन मन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर निर्धारण गरिएको थियो।
निर्धारित मापदण्ड र स्वीकृत सीमाभित्र रहेर मात्र हवाई भाडा लिनुपर्ने व्यवस्था भए पनि पछिल्लो समय चाडपर्वको मौका छोपेर मनपरी भाडा असुलिएको गुनासो बढेको थियो। सोही गुनासोलाई सम्बोधन गर्दै नियामक निकायले भाडादर कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ।