काठमाडौँ | काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर भाडामा लिएर सुनको अवैध ओसारपसार र कारोबार गर्ने तीन जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रहरीले तीन जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने चिनियाँ नागरिकमा जियाङ्सु, ग्वाङडोङ स्थायी ठेगाना भई हाल बूढानीलकण्ठ बस्दै आएका २७ वर्षीय हान फेई, ४७ वर्षीय झोउ लोङकिन र ३७ वर्षीय वाङ जियानझेन रहेका छन् ।
विशेष सूचनाका आधारमा सूक्ष्म निगरानी बढाउँदै उनीहरुलाई ‘अपरेशन ब्राभो गोल्फ’ कारवाही अन्तर्गत बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट अवैध सुन, नगद, ओसारपसारमा प्रयोग गरिएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन तथा उपकरणहरू र विभिन्न कागजातहरू बरामद गरेको छ । प्रहरीले कानुनी बमोजिमका प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएका अभियुक्तहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।