
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिँदो विश्व परिवेश र कृत्रिम बौद्धिकताको होडबाजीसँग जुध्न नेपालले शिक्षा र मानव संशाधनमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । शनिबार (असोज २४) काठमाडौँको चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको हीरकजयन्ती समारोहमा उनले विद्यालय तहको सिकाइमा देखिएको गम्भीर संकट समाधान गर्दै विद्यार्थीलाई भविष्यका निम्ति सक्षम बनाउनुपर्ने बताएका हुन् ।
थापाले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिका रूपमा स्थापित गर्ने मौका गुमाएकामा चिन्ता व्यक्त गरे । वर्तमान शिक्षण सिकाइ विधिलाई परिमार्जन गर्न जरुरी रहेको उनले उल्लेख गरे । अबको युगमा के सिकाउनेभन्दा पनि कसरी सिक्ने भन्ने सिकाउनु महत्त्वपूर्ण रहेको उनले बताए । उनले केही वर्षभित्रै प्रत्येक विद्यार्थीसँग एआई ट्युटर हुन सक्ने सम्भावना औँल्याए । प्रविधिले ल्याउने द्रुत परिवर्तनसँगै विद्यार्थीलाई विश्व नागरिकका रूपमा तयार पारिनुपर्नेमा उनले जोड दिए । “आज विश्व कृत्रिम बौद्धिकता र प्रविधिको तीव्र परिवर्तनबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा हाम्रा बालबालिकालाई गुणस्तरीय शिक्षा, सिक्ने सीप, आत्मविश्वास र मानसिक दृढता दिनु हाम्रो प्रमुख दायित्व हो,” उनले भने, “उनीहरूलाई आफ्नो संस्कार र माटोसँग जोड्दै विश्व नागरिकका रूपमा तयार गर्नुपर्छ ।”
उनले स्थानीय माटोको संस्कार र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको सन्तुलन मिलाउनुपर्ने बताए । देशको सबभन्दा ठूलो तागत जलस्रोतभन्दा पनि ‘ह्युमन रिसोर्स’ (मानव संशाधन) भएको उनले उल्लेख गरे । “हाम्रो सबैभन्दा ठूलो लगानी विद्यालय र बालबालिकामा हुनुपर्छ, किनकि हाम्रो सबैभन्दा ठूलो शक्ति मानव संशाधन हो,” उनले भने । सभापति थापाले पार्टीको महाधिवेशनबाट निर्वाचित भएपछिको पहिलो सार्वजनिक कार्यक्रम आफ्नै गाउँ र आफूलाई हुर्काउने विद्यालयकामा सहभागी हुन पाएकामा खुसी व्यक्त गरे ।