
काठमाडौँ | वैदेशिक रोजगार विभागले मंगलबारदेखि मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीमाथि अनुगमन सुरु गरेको छ। विभागका महानिर्देशक नवराज ढकालले मलेसियाको एफडब्लूसीएमएसमा छनोट भएका २५ म्यानपावरमाथि अनुगमन सुरु भएको बताए । उनले विभागले यसअघि नै सञ्चालकमाथि पक्राउ पुर्जी जारी गरेर प्रक्रिया अघि बढाएको बताए।
उनले भने,‘आजबाट विभागले म्यानपावरमा अनुगमन सुरु गरेको छ । अनुगमनमा त्यस्तै केही कैफियत भेटेमा तत्काल कारबाही गरिने छ । विभागले २५ म्यानपावर माथि छानबिन समेत गरिरहेको छ ।’ महानिर्देशक ढकालका अनुसार कानुनी विधि पुर्याएर विभागले अनुगमन सुरु गरिएको त । उनले भने,‘ विभागले अनुगमनको लागि अनुसन्धान अधिकृत तोकिएको छ । उहाँले सबै विधि पुर्याएर अनुसन्धान प्रक्रिया अघि बढेको छ।’
युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीमा देखिएको समस्या समाधानको लागि आपसी संवाद गर्न भन्दै नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा द्विपक्षीय संयन्त्र संयुक्त कार्य समूहको बैठक राख्न प्रस्ताव गरेको छ। विभागले २५ वटा म्यानपावरले एकाधिकार गरी आफै मात्रै मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा आबद्ध भएको भन्दै छानबिन गरिरहेको छ । म्यानपावर व्यवसायीहरूले भने कूटनीतिक माध्यमबाट आफूहरूलाई मलेसियाको सूचीबाट हटाइदिन नेपाल सरकार समक्ष अनुरोध गरेका थिए । वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेका मलेसियाद्वारा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकसहितका व्यवसायीलाई आज नै ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोक्ने सूचना सार्वजनिक गरिसकेको छ।