
काठमाडौँ | निरन्तरको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर ताल)मा पानीको सतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशयको जलसतह बढ्ने क्रम जारी रहेकाले सन्तुलन कायम गर्न ड्यामका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले सचेत गराएको हो ।
कुलेखानी ड्यामको जलाधार क्षेत्रमा लगातार भारी वर्षा भइरहेकाले जलाशयमा पानीको सतह बढिरहेको छ । ड्यामका ढोका खोल्नुपर्ने अवस्था आएमा थप सूचना जारी गर्नुका साथै चेतावनीको साइरन बजाइने नेपाल विद्युत् प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ । केन्द्रले शनिबार एसएमएसमार्फत सर्वसाधारणलाई पहिलो चरणको सतर्कता सन्देश पठाएको हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रबन्धक प्रल्हाद राउतका अनुसार कुलेखानी जलाशयको पूर्ण क्षमता एक हजार ५३० मिटर रहेकामा शनिबार दिउँसो १२ः१५ बजेसम्म पानीको सतह एक हजार ५२८.२० मिटर पुगेको छ । पानीको सतह थप बढेमा क्रमशः तीन चरणमा एसएमएस पठाएपछि मात्रै ड्यामका ढोका खोल्ने प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।
ड्यामको तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपास बसोबास गर्ने नागरिकलाई खोला किनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा रहन केन्द्रले आग्रह गरेको छ । देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा पनि सावधानी अपनाउन अनुरोध गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । विपद्को जोखिमबाट बच्न आयोजनाबाट जारी हुने आधिकारिक सूचना तथा मोबाइलमा प्राप्त हुने एसएमएस सन्देशमा उल्लेखित निर्देशन पूर्ण रूपमा पालना गर्न उहाँले अनुरोध गर्नुभयो ।