
काठमाडौँ | नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा डलर साटिदिने भन्दै एकान्तमा लगेर लुटपाट गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । राजधानीका विभिन्न स्थानमा डलर देखाइ लुटपाट गर्ने सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ का २८ वर्षीय सुनज तामाङ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ गाम्चाबाट पक्राउ परेका हुन् ।
निजले डलर देखाएर लुटपाट गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले घुँडामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । तामाङले प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको काठमाडाँैका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो । नियन्त्रणमा लिन खोज्दा जाइलागेपछि चेतावनीस्वरुप प्रहरीले पेस्तोलबाट एक राउड हवाई फायर गरेको थियो । त्यति गर्दा पनि नियन्त्रणमा नआएकाले तत्कालको परिस्थितिलाई मूल्याङ्कन गरी आवश्यकताअनुसार घुँडामुनि एक राउण्ड गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । निज तामाङ राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
डलर देखाइ ठगी तथा लुटपाटका घटनामा संलग्न भएको अभियोगमा निज तामाङ विगतमा पनि आठ पटक पक्राउ परेका थिए । पछिल्लो समय उनले स्वयम्भू, बूढानीलकण्ठ र साँखु क्षेत्रमा सुन देखाइ रकम लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ । तामाङले विभिन्न स्थानमा रहेका गेष्ट हाउस, रेष्टुरेन्ट, सुन तथा गरगहना पसल, हार्डवयेर, मेडिकल, डेरी, होलसेल पसललगायतको निगरानी गरी ती स्थानको सम्पर्क नम्बर लिएर पूरानो चिनजान भएको भन्दै फोन गर्ने र सञ्चालकलाई विश्वास दिलाएर लुटपाट गर्ने गरेको पाइएको छ । त्यस्तै सम्पर्कमा आएका व्यक्तिलाई विश्वास दिलाउन निजको समूहको अर्को व्यक्तिले ‘वाक–अशक्त’को भूमिका निर्वाह गर्ने र ठगिने व्यक्तिलाई डलर दिएर पठाउने गरेको, प्रहरीको निगरानीबाट बच्न स्थान परिवर्तन गर्दैआएको तथा सिसिटिभी नभएको क्षेत्रमा लगेर लुटपाट गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले निजको साथबाट ठगीमा प्रयोग गर्ने मोटरसाइकल तथा नक्कली नम्बर प्लेट, डलर ठगीमा प्रयोग गर्ने २० को चार बण्डल नेपाली रुपैयाँ, डलर जस्तै आकारमा काटेर राखेको सेतो कागजको बण्डल र उक्त बण्डलको तल र माथि राखिएको पाँच–पाँचको अमेरिकी डलर, एक किलो नक्कली सुनको ढिक्का बरामद गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पछिल्लो पटक निजले गत असोज २३ गते गोकर्णेश्वर–१२ स्थित लसुनटारमा दुई जनाको साथबाट रु आठ÷आठ लाख गरी १६ लाख लुटपाट गरी फरार भएको पाइएको छ ।