चैत १७, काठमाडौँ । कोभिड महामारीपछि तङ्ग्रने प्रयास गरिरहेको नेपालको पर्वतारोहण क्षेत्र रुस-युक्रेन युद्धको छायामा पर्न सक्ने भय अधिकारीहरूले व्यक्त गरेका छन्।उनीहरूका अनुसार यसपालि अघिल्लो वर्षहरूको तुलनामा कम पर्वतारोहीहरूले आरोहणका लागि अनुमति लिएका छन्।

अनुमति दिने क्रम वर्षभरि नै चलिरहने भन्दै पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका निर्देशकले हिमाल आरोहीहरूको सङ्ख्या थप बढ्न सक्ने बताए।

गएको वर्षको वसन्तयाममा ९३ वटा आरोहण दल अन्तर्गत ६३५ जना विदेशी आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका थिए। त्यसमा विश्वको सर्वोच्च शिखर सगरमाथाको लागि अनुमति लिने ४६ वटा समूहमा ४०८ जना विदेशी आरोही थिए। उक्त याममा नेपाली शेर्पासहित ४५९ जनाले सगरमाथाको सफल आरोहण गरे भने नेपालले ७१ करोड रुपैयाँभन्दा बढी रोयल्टी पर्वतारोहण क्षेत्रबाट भित्र्यायो।

यसपालि वसन्तयामका लागि अनुमति खोज्ने समूहहरूको सङ्ख्या पहिलाभन्दा कम देखिएको अधिकारीहरू बताउँछन्।

हालसम्म विभिन्न ११ वटा हिमाल चढ्नका लागि १९ वटा आरोहण दलले अनुमति लिएका छन्। सगरमाथा चढ्नका लागि चार समूहले स्वीकृति पाएका छन्।

रुस-युक्रेन युद्धका कारण यसवर्ष विदेशी पर्वतारोहीको सङ्ख्या घटनसक्ने विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक सूर्यप्रसाद उपाध्याय बताउँछन्।

उनले भने, "युक्रेन र रुसबीच भइरहेको लडाइँले केही प्रभाव परेको हो कि भन्ने हाम्रो बुझाइ छ। पहिला युक्रेनीहरू पनि हुन्थे र रुसीहरू पनि हुन्थे। तर तिनीहरू अहिले बाहिर जान सक्ने र यो खालको मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुन रुचि पनि कम देखिने र उनीहरूका बाध्यता पनि होलान्।"

१९ वटा आरोहण दलबाट अनुमति लिएका १४२ आरोहीमध्ये एकजना रुसी रहेको उपाध्यायले बताए। ती रुसी पर्वतारोहीले अन्य करिब एक दर्जन आरोहीहरूसँगै अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने लक्ष्य राखेका छन्।रुस-युक्रेन तनाव चर्किँदै जाँदा दिल्लीस्थित युक्रेन राजदूतावासले रुसी आक्रमण नरोकिएसम्म त्यहाँका पर्वतारोहीहरूलाई हिमाल चढ्न अनुमति नदिन नेपालसँग अनुरोध गरेको विवरणहरू आएका छन्।पर्यटन विभागका निर्देशक उपाध्यायले युक्रेन मागबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए।

रुस-युक्रेन लडाइँको असर के पर्छ

युरोपेली हिमाल आरोहीहरूले नेपालको पर्वतारोहण क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने जानकारहरूको बुझाइ छ।

रुस र युक्रेनबाट एकदमै ठूलो आरोहण दलहरू नआउने भएपनि दुई देशबीचको जारी तनावले नेपालको पर्वतारोहण क्षेत्रमा केही असर पुर्याउने नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा बताउँछन्।

उनले भने, "पहिला-पहिला युक्रेनीहरू पनि आउँथे। आफ्नो देशमा रुसले त्यत्रो आक्रमण गरिरहेकाले युक्रेनीहरू आउँदैनन् होला।"

"रुसीहरूका लागि त झन् रुबल साट्न समेत गाह्रो छ त्यही भएर आर्थिक अवस्थाले गर्दा उनीहरूले यात्रा गर्न सक्ने कुरै भएन।"

सन् २०१५ को विनाशकारी भूकम्पले थिलथिलो भएको नेपालको अर्थतन्त्रलाई पर्वतारोहण र पदयात्रा जस्ता साहसिक पर्यटनको विस्तारबाट टेवा पुग्ने अधिकारीहरूले बताएका थिए।

तर हिमपहिरोजस्ता प्रकोप, आरोहीहरू बीचको विवाद हुँदै पछिल्लो समय कोरोनाभाइरसको महाव्याधिसम्म आइपुग्दा कतिपय सरकारी अपेक्षाहरू प्रभावित भएका छन्।

आरोहणको अनुमति दिने क्रम अझै चलिरहने भएकाले आगामी दिनमा पर्वतारोहीको सङ्ख्या र त्यसबाट सङ्कलन हुने रोयल्टी दुवै वृद्धि हुनेमा आशावादी रहेको अधिकारीहरू बताउँछन्।बिबिसी