"सचिन तेन्दुलकरले सयौँ टेस्ट खेल्दै छन्, अब हामी पनि एशिया कपमा छनोट हुन्छौँ। 'तेन्दुलकर लक फ्याक्टर' पक्का लाग्छ।"
विन"/>
विन"/>
वैशाख २६, काठमाडौं | "सचिन तेन्दुलकरले सयौँ टेस्ट खेल्दै छन्, अब हामी पनि एशिया कपमा छनोट हुन्छौँ। 'तेन्दुलकर लक फ्याक्टर' पक्का लाग्छ।"
विनोद दासले भनेको यो कुरा सञ्जम रेग्मी अहिले पनि झल्झली सम्झिन्छन्।
यो सन् २००२ को कुरा हो। नेपाली राष्ट्रिय क्रिकेट टोली त्यस बेला सिङ्गापुरमा एसीसी ट्रफी खेल्दै थियो।
प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सक्दा नेपाल एशिया कपमा छनोट हुन्थ्यो। एशिया कपमा नेपाली टोलीले भारत र पाकिस्तानजस्ता शक्तिशाली टोलीसँग खेल्ने अवसर पाउँथ्यो।
मलेशियालाई २५ रनले पराजित गर्दै नेपालले फाइनलमा प्रवेश पायो अनि पहिलो पटक एशिया कपको लागि छनोट भयो। त्यति बेला एसीसी ट्रफीका शीर्ष दुई टोली एशिया कपमा छनोट हुने प्रावधान थियो। फाइनलमा यूएईसँग छ विकेटले हारे पनि नेपालले त्यसअघि नै विजयोत्सव मनाइसकेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको छ वर्षमै नेपालले अत्यन्तै ठूलो उपलब्धि हात पारेको थियो। यो सफलतापछि नेपाली क्रिकेटप्रेमीहरू निकै हर्षित भएका थिए।
अचानक चुलिएको प्रतिष्ठा
सिङ्गापुरबाटै हर्षबढाइँ सुरु भइसकेको थियो। नेपाल क्रिकेट सङ्घका तत्कालीन उपाध्यक्ष श्रीहर्ष कोइराला नेपाली टोलीका प्रबन्धक थिए। उनले सिङ्गापुरमै टोलीलाई एउटा पार्टी दिए। नेपाल आउँदा नेपाली टोलीको प्रतिष्ठा ह्वात्तै बढेको अनुभूति खेलाडीहरूले गरेछन्। वास्तवमा त्यति बेलासम्म अहिलेको जस्तो नेपाली क्रिकेट टोलीको त्यति ठूलो चर्चा थिएन। तर सिङ्गापुरबाट फर्किएपछि खेलाडीहरूले नसोचेको सम्मान पाए।
सपनाको उडान
सुन्धाराको एउटा पसलले बोलाएर खेलाडीहरूलाई शर्ट र पाइन्ट उपहार दियो। त्यसपछि आआफ्ना जिल्लामा खेलाडीहरूले सम्मान र स्वागत पाए। बीअर उत्पादन गर्ने काठमाण्डूस्थित एउटा पाँचतारे होटलमा एउटा कार्यक्रम आयोजना गर्दै प्रत्येक खेलाडीलाई १०/१० हजार नगद रुपैयाँ पुरस्कारसहित सम्मान गर्यो। त्यति बेला खेलाडीहरूले पाएको त्यो रकम निकै ठूलो थियो।
त्यति बेला भारतीय टोलीमा विश्वविख्यात खेलाडीहरू तेन्दुलकर, राहुल द्रविड, वीरेन्द्र सेहवाग आदि थिए। श्रीलङ्कामा मुथैया मुरलिधरन र पाकिस्तानमा शोएब अख्तरजस्ता बलर थिए।
नेपाली क्रिकेट सङ्घ त भर्खरै संस्थागत हुँदै थियो। संस्थामा पर्याप्त बजेट थिएन। खेलाडीहरूमा अभाव नै अभाव थियो। न सामग्री ढङ्गको हुन्थ्यो न सुविधा। श्रीलङ्काली प्रशिक्षक रोय डायस नेपाली टोली सम्हाल्न आएका थिए। कीर्तिपुर मैदानमा पनि सुविधा थपिने क्रममै थियो। यस्तो टोलीले एकै पटक भारत, पाकिस्तान र श्रीलङ्काजस्ता टेस्ट राष्ट्रसँग खेल्न लागेको थियो। खेलाडीहरू अचम्मको अनुभूति गरिरहेका थिए।
खड्का भन्छन् , "हामी उत्साहित पनि थियौँ। मनमा खुसी पनि थियो, सँगसँगै डर पनि थियो।"
सबै खेलाडीहरू 'हाई क्लास क्रिकेट' खेल्ने सपना बुन्दै थिए। सङ्घ पनि तयारीमा लागिपरेको थियो।
उक्त टोलीका एक जना प्रमुख खेलाडी दीपेन्द्र चौधरी सम्झिन्छन्, "हामीलाई तयारीका लागि अस्ट्रेलिया वा श्रीलङ्का लैजाने कुरा पनि चलिरहेको थियो।"
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाललाई तयारीको लागि एक लाख अमेरिकी डलर दिन लागेको चर्चा पनि चल्न थालेको थियो।
भारतसँग खेल्ने नेपाली टोलीको लागि भारतीय कम्पनीबाट विज्ञापन खेल्ने धेरै अवसर आउने सम्भावनाबारे पनि निकै अनुमान गरिएको थियो।
तर यो सपनामा खेलाडीहरू लामो समय उड्न पाएनन्। प्रतियोगिताको तयारी गर्ने सल्लाह हुँदाहुँदै एशिया कप नै रद्द भएको खबर आयो। खेलाडीहरू निराश भए।
‘कालो दिन'
"एशिया कप रद्द भएको त्यो दिन नेपाली पत्रपत्रिकामा नेपाली क्रिकेटको 'कालो दिन' भनेर समाचार छापिएको थियो। हामी सम्पूर्ण खेलाडीहरू कति निराश थियौँ, त्यो त बयान गर्न सकिन्न," खड्काले भने।
दुई-तीन वर्षअघिदेखि नै कारगिल युद्धको कारण भारत र पाकिस्तानबीच तनाव चुलिएको थियो। त्यसले क्रिकेटलाई पनि असर पर्छ कि भन्ने आशङ्का पहिलेदेखि नै थियो। आखिर त्यही नै भइदियो।
कप्तान खड्का नेपालले यदि २१ वर्षअगाडि नै भारत र पाकिस्तानजस्ता टोलीसँग खेल्न पाएको भए नेपाली क्रिकेट अर्कै अवस्थामा पुग्थ्यो भन्ठान्छन्।
"के थाहा नेपाली क्रिकेटको भाग्य उही बेला परिवर्तन भइसक्थ्यो कि? तर के गर्नु एउटा अवसर त्यत्तिकै अवसान हुन गयो। नेपाली क्रिकेटले के-के गुमायो। त्यसको लेखाजोखा नै भएन।"
एक्काइस वर्षअघि एशिया कप खेल्ने अवसर तुहिए पनि अर्को एशिया कपमा फेरि यूएई र नेपाललाई सहभागी गराउने कुरा चल्यो।
खेलाडीहरूको आशा फेरि एक पटक जागेको थियो।
तर एशिया कपमा यूएई र हङ्कङलाई समावेश गराइयो। नेपाल फेरि हिस्स हुन पुग्यो।
"त्यो बेलाको बैठकमा नेपाली पदाधिकारीहरूले किन नेपाललाई नखेलाउने भन्ने विषयमा तर्क गर्न सकेनन्, त्यो किन भनेर हामीले अहिलेसम्म बुझ्न सकेका छैनौँ," खेलाडी चौधरी भन्छन्।
त्यो ऐतिहासिक टोली
राजु खड्काको नेतृत्वमा रहेको नेपाली टोलीमा त्यति बेला परेश लोहनी उपकप्तान थिए। मेहबुब आलम र विनोद दास प्रमुख बलर थिए भने स्पिनको जिम्मा सञ्जम रेग्मी, शक्ति गौचन र राजकुमार प्रधानको काँधमा थियो।
अन्य खेलाडीहरूमा वरदान चालिसे, दीपेन्द्र चौधरी, मञ्जित श्रेष्ठ, मनोज कटुवाल, गणेश शाही, लाक्पा लामा थिए।
टोलीको व्यवस्थापक श्रीहर्ष कोइराला थिए भने सहायक व्यवस्थापक रणबहादुर बम थिए।
त्यस्तै मुख्य प्रशिक्षक रोय डायस थिए भने सहायक प्रशिक्षक राजकुमार दास थिए।
फेरि भारत-पाकिस्तान द्वन्द्वको छायामा पर्ने डर
यसपालिको एशिया कप पाकिस्तानमा हुन लागेको छ। भारत र पाकिस्तानबीच विद्यमान द्वन्द्वका कारण एशिया कप फेरि पनि प्रभावित हुने हो कि र कतै नेपालले फेरि एशिया कप खेल्ने अवसरबाट वञ्चित हुने हो कि भन्ने डर बढेको छ। आयोजक पाकिस्तानमा गएर नखेल्ने भारतको घोषणा र त्यसपछि 'न्यूट्रल भेन्यू' अर्थात् तटस्थ मैदानमा भारतको खेल खेलाउने विकल्पबारे पनि अहिलेसम्म सहमति जुट्न नसकेको खबरहरू सार्वजनिक भएका छन्।
प्रतियोगिता नै रद्द हुनेसम्मको चर्चा चलिरहेको छ। "नेपाल छनोट भएकै बेला मात्र यस्तो किन हुन्छ?" नेपाली क्रिकेटप्रेमीहरू चिन्तित देखिएका छन्। तर प्रतियोगिता हुने आधारहरू भने धेरै देखिन्छ। क्रिकेटको ठूलो आर्थिक बजार तलमाथि पर्न सक्ने भएकोले प्रतियोगिता नै रद्द हुन नसक्ने विश्वास धेरैमा छ। भारतले पाकिस्तानलाई छोडेर बाँकी पाँच राष्ट्रबीच नयाँ प्रतियोगिता गर्ने प्रस्ताव गरेको खबर पनि छ। नेपालको हकमा एशिया कपको ठूलो महत्त्व छ। अहिलेको नेपाली राष्ट्रिय टोली सन् २००२ जस्तो कमजोर छैन। यो सशक्त छ र विश्वक्रिकेटमा नयाँ सफलतातिर अग्रसर देखिन्छ। नेपाल क्रिकेटका कतिपय पदाधिकारीहरूका अनुसार ‘एशिया कप होस् वा अर्को नयाँ प्रतियोगिता, नेपालको सहभागिता भने पक्कै हुने छ।’