भदौ २७, काठमाडौँ | सरकारले प्रस्ताव गरेको नयाँ कानूनमा शिक्षकको नयाँ योग्यता निर्धारण गरिएको छ ।
कक्षा १ देखि ५ सम्म जुनसुकै विषयमा पढाउनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।
विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो । त्यसै गरी कक्षा ६ देखि ८ सम्मको लागि सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।
शिक्षक पदमा नियुक्तिका लागि नेपाली नागरिक हुनु पर्ने, अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्ने, २१ वर्ष उमेर पूरा भई ३५ वर्ष पूरा नभएको व्यक्ति हुनु पर्ने उल्लेख गरिएको छ । महिलाको हकमा अधिकतम उमेर ४० वर्ष निर्धारण गरिएको छ ।
अपाङ्ग मात्र प्रतिस्पर्धा गर्नेको हकमा ४० तथा माध्यमिक द्वितीय श्रेणीको हकमा खुलातर्फ ४५ वर्षसम्मको व्यक्ति उम्मेदवार हुन सक्ने योग्यता निर्धारण गरिएको छ ।