फागुन ३, काठमाडौँ | मृतक व्यक्तिहरूको खाताबाट पेन्सन निकालेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ परेका छन्।
प्रहरीका अनुसार राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्ज शाखाका कार्यालय सहयोगी रामेछाप लिखु देउराली गाउँपालिका-६ का ५५ वर्षीय पुण्यप्रसाद अधिकारी पक्राउ परेका हुन्।
उनलाई बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
उनले मृतक ८ जनाको पेन्सन केही वर्षदेखि लगातार निकाल्दै आएको प्रहरीले जनाएको छ। त्यसका लागि उनले मृतक व्यक्तिहरूको पेन्सन पट्टा तथा चेकबुक आफूले राख्ने गरेका थिए।
पुण्यले उनीहरूले खाता खोल्दाको नागरिकता र पुरानो फोटो टाँसी नयाँ दस्तखत नमूना कार्ड आफैंले तयार गरी पैसा निकाल्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
उनलाई बैंकिङ कसुर तथा ठगीसम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।