२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नारी दिवस: ५६ सन्तानको आमा बराल

२०८०, २५ फाल्गुन शुक्रबार ०९:४८

फागुन २५, उर्लाबारी | मीना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् ।

२०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मीनाले ‘कमाई खाने’ भाँडो बनाई भन्दै कतिपयले कुरा काट्दा उनलाई राम्रो काममा साथ नपाइने हो कि भन्ने चिन्ताले सताएको थियो ।

मीनाले उर्लाबारी–७ मा बालगृह संचालन गरेको २३ वर्ष भइसकेको छ । २०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुगेकी मीनाको वैवाहिक जीवन सफल भएन ।

उनले नयाँ घरमा लामो समय संघर्ष गरिन् ।


श्रीमानले अर्की श्रीमती ल्याएपछि उनी त्यो घर छाडेर समाजसेवामा लाग्ने निर्णयमा पुगिन् । आफूले सानैमा भोगेको जस्तो पीडा अनाथ बालबालिकाहरूले भोग्नु नपरोस् भनेर उनले मोरङको उर्लाबारीमा २०५७ सालमा असहाय, वृद्ध एवं अनाथ आश्रम खोलेकी हुन् । उनको यो अभियानमा अन्य महिलाहरूले पनि साथ दिए ।

मीनाकै योजनामा संचालनमा ल्याइएको नमूना कोशी प्रदेशकै उत्कृष्ट बालगृहका रूपमा परिचित छ । मीनाले गृहमै बसेर ५६ जना बालबालिकाको संरक्षण गरेकी छिन् । मीनालाई ती बालबालिकाले ‘ममी’ भनेर सम्बोधन गर्छन् । मीना काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिकाकी आमा हुन् ।

बराल भन्छिन्–‘सुरुमा विरोध गर्नेहरू पनि अहिले मलाई सहयोग गरिरहेका छन् ।’

वैवाहिक जीवन असफल भएपछि थुप्रै सन्तानकी आमा बन्ने चाहना राखेकी मीना अहिले उदाहरणीय महिलामा गनिएकी छिन् । सुरुमा उर्लाबारी–६ स्थित राधिका माविले आश्रमका लागि चार कट्ठा जग्गा उपलब्ध गराएको थियो भने स्थानीय समाजसेवी सर्वलाल धिमालले पनि २ कट्ठा जग्गा प्रदान गरेका थिए ।

त्यसैगरी पूर्वमेजर हर्कबहादुर राई, हेमराज न्यौपाने, कालिमाया श्रेष्ठ, शोभित निरौला, अनन्त बराल, खड्गकुमारी ढुंगानालगायतले १४ कट्ठा जग्गा दिए । हाल यो बालगृहमा १ बिघा क्षेत्रफलमा फैलिएको छ । बालगृहमा २० कोठाको दुई तले भवन र अर्को ९ कोठाको दुई तले भवन, ४ कोठाको पक्की दुई तले भवन, २ कोठाको व्यवस्थित भान्सा घर, जस्ताको छानो भएको पक्की गाईगोठ छ भने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा भारतीय दूतावासले एम्बुलेन्स प्रदान गरेको थियो । उक्त एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।

२०५८ सालमा आश्रम संचालक समितिले श्रीमद्भागवत पुराणको आयोजना गरी एक कोठाको भौतिक संरचना निर्माण गरिएको थियो । त्यसपछि सहयोगी ९ परिवारले एक–एक वटा कोठा बनाइदिए । त्यसैगरी उर्लाबारी–४ का खगेन्द्र राई र श्याम राईको सक्रियतामा ८ जनाको संयुक्त लगानीमा दुई कोठे भवन निर्माण गरिएको थियो ।

२०५९ सालमा आश्रमको भवन निर्माण पूरा नहुँदै मीनाले ७ जना असहाय बालबालिका तथा दुई जना वृद्धवृद्धालाई आफ्नै घरमा राखेर पालनपोषण गर्न थालेकी थिइन् । भवन निर्माण सम्पन्न भएसँगै आश्रममा बालबालिका एवं वृद्धवृद्धाहरूलाई राख्न थालियो ।

त्यसपछि असहाय बालबालिका एवं वृद्धवृद्धा थपिन थाले । हाल मेचीदेखि महाकालीसम्मका ५६ जना बालबालिका बालगृहमा छन् । मीनाले थालेको यो अभियानमा स्थानीय महिला नेतृहरू भागीरथा अधिकारी, सीतादेवी निरौला, अतिहीरा राई, हीरादेवी राई, चन्द्रकला गौतम, सुशीला थापा, कविता थापा, देवका खनाल, मीनादेवी कार्की, लक्ष्मीदेवी सुब्बा तथा रामप्यारी तामाङले सुरुवाती चरणमा साथ दिएका थिए ।

महिलाहरूले मात्र सुरुवात गरेको आश्रमबाट वृद्धवृद्धाहरूको उचित व्यवस्थापनसँगै नमूना बालगृहको अवधारणामा कार्य संचालन गरियो । महिलाहरूको अगुवाइमा थालिएको यो सामाजिक अभियानमा २०६५ सालदेखि पुरुषहरू पनि सहभागी हुँदै आएका छन् । यो बालगृहको संचालक समितिमा महिलाको ६० प्रतिशत तथा पुरुषको ४० प्रतिशत प्रतिनिधित्व छ ।

बालगृहको अध्यक्षमा स्वयं मीना छिन् भने उपाध्यक्षमा भागीरथा अधिकारी छिन् । यही गृहकी एक बालिकाको नामबाट यो आश्रमको नाम नमूना बालगृह राखिएको हो । बालगृह संचालन गर्न वार्षिक २४ लाख भन्दा बढी खर्च हुन्छ । खानपान, स्वास्थ्योपचार, शिक्षा, शैक्षिक सामग्री, लत्ताकपडा आदिमा मासिक २ लाख भन्दा बढी खर्च हुन्छ । यहाँको खर्च सहयोगी, दाता तथा ऋणकै भरमा चलिरहेको छ ।

संस्थापक अध्यक्ष मीनाले गृहलाई आफ्नो सम्पत्ति बिक्री गरेर प्राप्त भएको ७० लाख रुपैंयाँ प्रदान गरेकी छिन् । अध्यक्ष मीनाले प्रदान गरेको र गृहको अक्षयकोषमा रहेको रकमले उर्लाबारी–७ को वैशाबारीमा १ बिघा ५ कट्ठा जग्गा खरिद गरिएको छ । उक्त जग्गामा नमूना कृषि फार्म सञ्चालन भइरहेको छ । बालगृहमा रहेका बालबालिका निजी, सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति