जेठ १७, काठमाडौँ । कान्तिपुर पब्लिकेसन्स्का अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने तत्कालिन दुई कर्मचारीलाई पक्राउ गर्ने तयारी गरिएको छ ।
सिरोहियाको नागरिकता जारी गर्ने तत्कालिन प्रमुख जिल्ला अधिकारी सीडीओ शरदकुमार भट्टराई र शाखा अधिकृत काशिराज दाहाललाई पक्राउ गर्ने तयारी भएको हो ।
सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्ने अनुमति लिएको छ ।
वंशजको नागरिकता दिने तत्कालीन सीडीओ भट्टराई र प्रतिलिपि दिने शाखा अधिकृत दाहालविरुद्ध प्रहरीले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिइसकेको छ ।
२०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए ।
उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।
सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेका थिए ।
उनको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका थिए ।
दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्नु पर्ने भन्दै अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतको भनाई छ ।
सोही प्ररकरणमा पक्राउ परेका सिरोहिया भने हाजिर जमानीमा छुटिसकेका छन् ।