साउन ६, काठमाडौं । देब्रे हातमा चोट लागेपछि भारतकी श्रेयाङ्का पाटिल महिला एसिया कपबाट बाहिर भएकी छन् । शनिबार एसियन क्रिकेट काउन्सिलले जारी गरेको विज्ञप्तिमा २१ वर्षीया अफ स्पिनरको दोस्रो हातको चौथो औँलामा चोट लागेको जानकारी दिइएको हो ।
श्रेयाङ्का शुक्रबार पाकिस्तानविरुद्धको खेलमा सहभागी भएकी थिइन् । उनले ३.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर २ विकेट लिएकी थिइन् । भारतले १४.२ ओभरमा पाकिस्तानले प्रस्तुत गरेको लक्ष्य पछ्याउँदा उनले ब्याटिङ भने गर्नुपरेको थिएन ।
उनको स्थानमा २६ वर्षीया बायाँ हाते स्पिनर तनुजा कँवरलाई टोलीमा समावेश गरिएको छ । उनले भारतका लागि हालसम्म एक खेल पनि खेलेकी छैनन् । उनी वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्स र घरेलु लिगमा रेलवेज्का लागि खेल्छिन् ।