साउन २०, काठमाडौँ | लोकप्रिय अभिनेता मुकुन्द श्रेष्ठले लामो समयपछि फिल्ममा पुनरागमन गर्न लागेका छन्। एक दशकको अन्तरालपछि उनी 'लाज शरणम्' फिल्ममा शीर्ष भूमिकामा देखिन लागेका हुन् । उनले फिल्ममा 'डरलाग्दो खलपात्र' को भूमिकामा ख्याति कमाएका छन् ।
चर्चित हास्य टिभी सिरियल 'सक्किगोनि' टिमले 'लाज शरणम्' निर्माण गर्न लागेको हो । जेपीटी क्रिएसनका निर्देशन कुमार कट्टेलले अभिनेता मुकुन्द श्रेष्ठको पुनरागमनको जानकारी इकागजलाई दिएका हुन् । क्रिएसनले सामाजिक सञ्जालमा श्रेष्ठको तस्बिर सार्वजनिक गरेकाे छ।
शुक्रबार काठमाडौंमा आयोजित निर्माण घोषणा कार्यक्रममा जेपीटी क्रिएसनको ब्यानरमा बन्न लागेको फिल्मको जानकारी दिइएकाे थियो । फिल्मको लेखन र निर्देशन कुमार कट्टेल 'जिग्री'ले गर्नेछन्।
मुख्य भूमिकामा मुकुन्दसँगै अर्जुन घिमिरे, सागर लम्साल, माला लिम्बु, विजय बराल, र कमलमणि नेपाल पनि देखिनेछन्। भदौको तेस्रो सातादेखि छायांकन सुरु हुने यो फिल्मलाई महाशिवरात्रिको अवसरमा फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याउने योजना छ।
मुकुन्द श्रेष्ठले 'देउता', 'अर्जुन', 'कस्तो साइनो', 'सन्तानको माया', 'धड्कन', र 'सपना' जस्ता थुप्रै चर्चित फिल्महरूमा अभिनय गरेका छन्। उनले पछिल्लो पटक 'कोहिनूर' फिल्ममा काम गरेका थिए भने डेढ वर्षअघि 'मेरी बास्सै' सिरियलको केही एपिसोडमा पनि देखिएका थिए।