भदौ ११, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो।
पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । तर त्यसबिचमा ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने‚ उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल लगायत पदाधिकारी तथा केन्द्रीय नेताहरू विरुद्ध बोलेका थिए । साथै रास्वपाले दुई पटकसम्म ढकाललाई स्पष्टीकरण सोधेको थियो। महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निस्कासित भएका महामन्त्री ढकाललाई त्यसपछिका अभिव्यक्तिका आधारमा साधारण सदस्यताबाट निस्कासित गरेको हो । केन्द्रीय अनुशासन समितिको प्रतिवेदनका आधारमा केन्द्रीय समितिबाट निर्णय गरेको रास्वपाले जनाएको छ ।