पढ्न करिब 2 मिनेट लाग्छ

कार्तिक २५, मुगु । कात्तिके मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि जिल्ला रारा गाविस–८स्थित मुर्मा गाउँका कृषक हैरान भएका छन् ।

मौरीका घार भालुले फोरेर मह खाइदिन थालेपछि कृषक हैरान भएका हुन् । स्थानीय मह व्यवसायी धनसिंह रोकायाका अनुसार एक सातायता जङ्गली भालुले गाउँका डबलबहादुर रोकायाका दुई घार, लोगबहादुर रोकायाका छ घार, रत्नवीर रोकायाका छ घार, लोकबहादुर रोकायाका छ घार र रणबहादुर रोकायाका एक–एक घार फोरेर मह खाई दिएको छ ।

गाउँमा प्रत्येक घरमा कम्तीमा पनि एकदुईवटा घार हुने भएकाले भालुले मह खान थाले पछि सबै गाउँले रातभरि जागै भएर भालु कुर्न थालेका छन् ।

एक घारबाट १५ मानासम्म मह निस्कने र प्रतिमाना रु ८००मा विक्री हुने गर्दछ ।

मुर्मा गाउँ रारा राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले गाउँलेले भालुलाई मार्न आँट नगरी भगाउने गरेपनि राति फेरी आएर घारै बोकेर लाने गरेको स्थानीयबासिन्दाको गुनासो छ ।

यहाँ जेठ र कात्तिक महिनामा दुई चोटी मह निकाल्ने गरिन्छ । एकै याममा कृषकले मह बिक्री गरेर न्यूनतम रु २५ हजारसम्म आम्दानी गर्ने गर्दछन् ।

पछिल्लो समयमा नेपालकै ठूलो र गहिरो ताल रारा हेर्ने आउने पर्यटक बढ्दै जान थालेका र उनीहरुले रारा तालदेखि ३० मिनेटको दूरीमा रहेको यो गाउँ मै पुगेर मह किन्न थालेपछि उनीहरु मौरीपालनमा आकर्षित भएका थिए तर भालुले घार नै बोकेर लान थालेपछि घार कसरी जोगाउने भनेर चिन्ता बढेको अर्का स्थानीयबासी वृषबहादुर रोकाया बताउनुहुन्छ ।