मङ्सिर २३, धनगढी । नेकपा (एमाले) र जनमोर्चाका कार्यकर्ताले बुधबार यहाँ गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको विरोधमा आज बजार बन्द गरेका छन् ।
बन्दका कारण यस क्षेत्रमा व्यापार व्यवसाय शैक्षिक संस्था ठप्प हुँदा जनजीवन पनि प्रभावित भएको छ । बन्दका कारण आज धनगढीबाट लामो तथा छोटो दूरीमा चल्ने कुनै पनि सवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् ।
संविधान संशोधन विधेयकको विरोधमा रहेका नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यहाँको कार्यक्रमलाई लक्षित गरी गरिएको प्रदर्शनका क्रममा झडपसमेत भएको थियो । झडपमा आफूसहित आठजना प्रदर्शनकारी घाइते भएको एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले बताउनुभयो । रासस