दिनेश ठकुल्ला/माघ २४, धनगढी । कैलालीको विभिन्न ठाउँमा आज भएको छुट्टाछुट्टै सडक दुर्घटनामा परी २१ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो घोडाघोडी नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा नेपालगञ्जतर्फ जाँदै गरेको ना ६ ख ६३२८ नम्बरको बस अनियन्त्रित भइ पल्टिदा २० जना घाईते भएका छन् ।

घाईते मध्ये तीन जनाको अवस्था गम्भीर र १७ जना सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको उक्त बस दुर्घटना भएपछि चालक फरार रहेको जनाइएको छ । यस्तै, धनगढी उपमहानगरपालिका–१० मा विद्युतीय रिक्साको ठक्करबाट सागु राना घाईते हुनु भएको छ ।

जोगेन्द्र आउजीले चलाएको अन टेष्ट विद्युतीय रिक्साले से ३ प ३२१९ नम्बरको राना सवार स्कुटीलाई ठक्कर दिएको थियो । अटो चालक, अटो र स्कुटी स्थायी प्रहरी पोष्ट जुगेडाले नियन्त्रणमा लिएको छ ।

यसैगरी, अत्तरिया नगरपालिका–१३ मा ना १ क ९७८२ नम्बरको टिप्परको ठक्करबाट भारतीय नम्बर प्लेटको कारमा क्षति भएको छ । घटना लगत्तै टिप्पर चालक फरार भएको जनाइएको छ ।

Related News