पढ्न करिब 2 मिनेट लाग्छ

दिनेश ठकुल्ला/फागुन २०, धनगढी । छ वर्ष अगाडि नै उन्मूलन भइसकेको पोलियोको जोखिम रहेको हुन सक्ने भन्दै फागुन २१ गते यहाँका बालबालिकाहरुलाई पोलियो विरुद्धको खोप दिइदैछ ।

छिमेकी राष्ट्र पाकिस्तान र अफगानिस्तानमा पोलियो अझै कायमै रहेकाले यहाँका एक लाख १६ हजार ८४६ जना पाँच वर्षमुनीका बालबालिकालाई पोलियो थोपा खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कैलाली सहित तराईका १२ र काठमाण्डौं उपत्यका तीन गरी १५ जिल्लामा पोलियो खोप अभियान सञ्चालन हुन लागेको हो ।

छिमेकी राष्ट्रहरुमा पोलियो अझै उन्मूलन हुन नसकेकाले जोखिमलाई मध्यनजर गरेर १५ जिल्लामा यो अभियान सञ्चालन हुन लागेको वरिष्ठ जनस्वास्थ्य प्रशासक टङ्क प्रसाद चापागाइँले बताउनुभयो । बालबालिकाहरुलाई पोलियो लाग्नबाट जोगाउनका लागि खोप नै प्रभावशाली र शक्तिशाली माध्यम रहेकाले सबै बालबालिकालाई पोलियो थोपा खुवाउन उहाँले आग्रह गरेका छन् ।

यहाँ पोलियो थोपा खुवाउनका लागि ५८० वटा खोप केन्द्र तय गरिएको छ । एक हजार १६० जना स्वयम् सेवक खटाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सतप्रतिशत बालबालिकाले सबै खोप नपाएसम्म जोखिम रहि रहने भएकाले सरकारले पुनः अभियान थालेको जनस्वास्थ्य प्रशासक चापागाइँले बताए । उनले मुलुकमा अझै १३ प्रतिशत बालबालिका खोपबाट बञ्चित रहेको र तीन प्रतिशत बालबालिकाले कुनै पनि खोप नलिएको तथ्याङ्क प्रस्तुत गरे ।

विश्व स्वास्थ्य सङ्गठनले गरेको सर्वेक्षण अनुसार नेपालमा अहिलेसम्म ८७ प्रतिशत बालबालिकाले खोप पाएका छन् । केहि बालबालिका खोपबाट छुट्ने गरेकाले खोप नपाएका कारण हुने मृत्युदरलाई शून्य सहनशिलतामा झार्न अझै चुनौती रहेको चापागाइँले बताउनुभयो । नेपालबाट सन २०१० मै पोलियो उन्मूलन भइसकेको सरकारले घोषणा गरेको थियो । यद्यपि, सम्भावित जोखिम अझै कायमै रहेको जनाइएको छ । यस्तै, जनस्वास्थ्य कार्यालयले पोलियो अभियानपछि जापानीज इन्सेफ्लाइटिस रोग विरुद्धको खोप अभियान पनि सञ्चालन गर्ने जानकारी दिएको छ ।

नेपालमा गरिबी तथा आमाको शैक्षिक अवस्थाले पनि बालबालिकाले पाउने खोपमा निर्भर गर्ने गर्दछ । खोपको प्रसारमा एकरुपता नहुनु, पूर्ण खोपलाई निरन्तरता दिन नसक्नु लगायतका चुनौती तथा समस्याहरु रहेका विश्व स्वास्थ्य सङ्गठनका डा. रुपेश तिमिल्सिनाले बताउनुभयो ।

उनले सन २०१४–२०१८ को रणनीति अनुसार खोप अभियान सम्बन्धी काम भइरहेको जानकारी दिनुभयो । पोलियो विरुद्धको खोप अभियानमा सबैलाई सहयोग पु¥याउन जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले आग्रह समेत गरेको छ ।