पर्वत । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशमा अर्को द्वन्द्व मच्चाउने बताउँदै आएका छन् । यहि फागुन २७ गतेदेखि लागू भएको स्थानीय तहको केन्द्र पायक नपरेको भन्दै पर्वतमा आन्दोलन शुरु भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र मिलनचोक क्षेत्रमा कायम गर्नुपर्ने माग गर्दै माझफाँटका केही वडा, धाईरीङ, शालीजा, नाग्लीवाङ र बनौका बासिन्दाले आन्दोलन चर्काएका हुन् ।
स्थानीय तह पुनसंरचनाका क्रममा जलजला गाउँपालिकाको केन्द्र साविक माझफाँट गाविसको मल्लाज कायम भएको छ । मल्लाज अपायक पर्ने र सेवा सुबिधा लिन जान असुबिधा हुने भन्दै गाउँपालिकाको केन्द्र उद्घाटनका लागि मल्लाज आउने टोलीलाई लक्षित गरेर आन्दोलनमा उत्रिएका छन् ।
उक्त क्षेत्रका बासीन्दाले विहिबार जिल्लामा कालो झण्डासहित ¥याली निकालेर केन्द्रको विरोध गरेका छन् । जलजला गाउँपालिकाको केन्द्र उद्घाटन गर्नको लागि कोहि उक्त क्षेत्रमा प्रवेश गरे आफूहरुले त्यसै नछा्ड्ने भन्दै आन्दोलनकारीले नाराबाजी सहित जिल्ला समन्वय समितिको कार्यालय अगाडि धर्नामा बसेका छन् ।
उनीहरुले जलजला गाउँपालिकाको केन्द्र मिलनचोक राख्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद मरासिनीको ध्यानाकर्षण गराएका छन् । साविक धाईरीङ, बनौ, शालीजा, नाग्लीवाङका प्रतिनिधिको टोलीले जिल्ला समन्वय समिति र प्रशासन कार्यालयमा माग सम्बोधनको विषयमा ज्ञापनपत्र समेत बुझाएको छ ।
जलजला गाउँपालिकामा बार्सखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, बनौ र नाग्लीवाङ गाविस समावेश गरिएको छ । आन्दोलनकारीले मिलनचोक, लुङ्दी, पर्वत बेनी क्षेत्रमा केन्द्र बनाउन माग गरेका छन् । मिलनचोकनै केन्द्र हुनुपर्ने साविकको माझफाँट गाविसका पर्वत बेनी,लुङदी र खोलाखेतका वासीन्दाको समेत माग रहेको छ ।
प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले आवश्यक पहल गर्ने बताए । उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेका गाउँपालिका अनुसार देशभर कतिपय ठाउँमा केन्द्र नमिलेको भन्दै त्यसको विरोध भैराखेको बताउँदै त्यसको बारेमा आवश्यक प्रक्रिया के छ त्यसको बारेमा स्थानिय विकास अधिकारीसँग समन्वय गरेर त्यसको बारेमा जानकारी गराउने बताए । उनले केन्द्रको धाराणा अनुसारनै आफूहरु अगाडि बढ्ने भन्दै त्यसको लागि केन्द्रमा खबर गर्ने बताए ।