पढ्न करिब 2 मिनेट लाग्छ

नन्दराम जैशी/चैत ११, जुम्ला । जुम्लामा यस बर्षको धान खेतिका लागि जिल्ला कृषि विकास कार्यालय जुम्लाले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको छ ।

जिल्लाको खाद्य सुरक्षालाइ मध्यनजर गर्दै बिजबृद्धि गर्ने उदेश्यले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको कार्यालयले जनाएको छ । कार्यालयद्धारा बालि विकास कार्यक्रम अन्र्तगत ५० प्रतिशत र कृषि प्रसार कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा कृषकहरुलाइ उन्नत जातको धानको बिउ वितरण गरीएको हो ।

कार्यालयका प्राविधिक सहायक मोहनसिंह महतका अनुसार जिल्लाका चारवटा कृषि सेवा केन्द्र मार्फत कृषकहरुलाइ चार उन्नत जातको धानको बिउ अनुदानमा बितरण गरीएको छ । जसमा कृषि अनुसन्धान केन्द्र विजयनगरले सिफारिस गरेको लेकालि १ र ३ कालो जातको उन्नत जातको धान र चन्दननाथ १ कालो तथा चन्दननाथ ३ सेता जातको उन्नत जातको धानको बिउ बितरण गरीएको महतले जानकारी दिनुभयो ।

कृषकलाइ बितरण गरीएको उन्नत जातको धानको बिउ हाटसिंजाका कृषकले २ हेक्टर, नराकोटका कृषकले २ हेक्टर, तातोपानिका कृषकले ४ हेक्टर र चन्दननाथ नगरपालिकाका कृषकले ८ हेक्टर गरी १६ हेक्टर खेतियोग्य जमिनमा रोपाइका लागि दिइएको हो ।

यसैबिच उक्त बितरण गरीएको बिउ कृषकहरुले शनिबार भिजाउने भएका छन् । जुम्लामा परम्परादेखि गरिँदै आएको चलन अनुसार यहि चैत्र १२ गते अर्थात भोलि शनिबार धानको बिउ सबै कृषकको घरघरमा भिजाइदै छ ।

इतिहास अनुसार चन्दननाथ बाबाले भारतको कास्मीरबाट ल्याउनु भएको काली मार्सी धानको बीऊलाई त्यहि समयदेखि चैत १२ गते भिजाउने गरिएको भएपनि हाल सबै प्रकारका धानके बिउ चैत्र १२ गते भिजाउने गरीन्छ ।

परम्परा अनुसार कृषकहरुले आफुलाई चाहिने जति बिउ केलाएर नदि वा घरमा एउटा ठुलो भाँडोमा पानीमा डुबाएर धानको बिउ भिजाईने गरीरहेका छन् । चैत्र १२ गते भिजाइएको धानको बिउ ४ दिनसम्म पानीमा भिजाएपछि १६ गते बीउलाई पानीबाट झिकेर सुकाउने गरिन्छ भने २० गते व्याडमा राखिन्छ ।

तर कतिपय कृषकहरुले बिउ छान्ने र भिजाउने तरीका थाँहा नपाएको र नअपनाएको कारण पछिगएर बिउ बिग्रिने गरेको कृषि विज्ञहरुले बताएका छन् । कृषकलाइ बीउ सुकाउँदा घाममा नभइ छहारीमा सुकाउनु पर्ने भन्दै धानको बिउ राख्दा पोटिलो बिउ राख्नुपर्ने कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ ।

नुन पानीको घोलमा धानलाई भिजाएर सफा पानीमा पखाली सकेपछि पोटिलो बिउ राख्दा राम्रो हुने केन्द्रका निमित्त प्रमुख बिष्णु बहादुर हमालले बताउनुभयो ।