चैत १८, डडेल्धुरा । डडेल्धुरामा सुदूरपश्चिमकै ठूलो सित भण्डार अर्थात कोल्ड स्टोर निर्माण भईरहेको छ ।
कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका १ दहमा नयाँ प्रविधिसहितको उग्रतारा सित भण्डार प्राली निर्माण भईरहेको हो ।
एक हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ प्रतिशत लगानीमा स्थापना भईरहको कोल्ड स्टोर निर्माण समितिका अध्यक्ष भोजराज भट्टले बताएका छन् ।
झण्डै आठ करोडको लगानीमा कोल्ड स्टोर निर्माण भइरहेको हो । ठूलो लगानीमा बन्न लागेको सित भण्डारमा दश हजार क्वीन्टलसम्म आलुको बिउ भण्डारण गर्न सकिनेछ ।
स्टोर निर्माण भईसके पछि यसबाट करिब नौँ सय घरधुरीहरु लाभान्वीत हुने र ५० देखि ६० जना व्यक्तिहरुले रोजगारी समेत पाउने अध्यक्ष भट्टले बताएका छन् ।
दुई वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको उक्त कोल्ड स्टोर अबको तीन महिना भित्रै सञ्चालनमा आउने बताईएको छ । सुदूर पश्चिमको कञ्चनपुरमा पहिलो पटक पाँच सय मेट्रिकटनको कोल्ड स्टोर निमार्ण भईसकेको र दोस्रो कोल्ड स्टोरको रुपमा डडेल्धुरामा सुदू्रपश्चिमकै ठूलो क्षमता भएको एक हजार मेट्रिक टनको कोल्ड स्टोर निर्माण कार्य तिब्र रुपमा भईरहेको छ । स्टोर निमार्णको ८० प्रतिशत काम सम्पन्न भईसकेको निर्माण पक्षले जनाएको छ ।
जिल्लामा आलुको बिउ प्रसस्त मात्रामा उत्पादन हुँदा–हँुदै पनि भण्डारण गर्न नसकिएको हुँदा अन्य जिल्लाबाट बिउहरु ल्याउनु पर्ने बाध्यता रहेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वागवानी अधिकृत सुदीप देवकोटाले बताएका छन् । तर कोल्ड स्टोर निर्माण भई सञ्चालनमा आएमा जिल्लामै उत्पादित आलुको बिउ र बिभिन्न कृषि उपजहरुलाई भण्डारण गरि पुनः बिउको लागि प्रयोग गर्न सकिने उनले बताएका छन् ।
कोल्ड स्टोरले सुदुरपश्चिमको पहाडि जिल्लामा उत्पादित खाद्यान्न, आलुको बिउ र फलफुलहरु सञ्चित गर्न निकै नै सहयोग पुग्ने विश्वास लिईएको छ । यस्तै उत्पादित कृषि उपजलाई भण्डारण गरेर मुल्य बृद्धि भएपछि बिक्रि बितरण गर्दा किसानहरुले राम्रो आम्दानी गर्न सक्ने पनि विश्वास लिईएको छ । बिरेन्द्र जैरुको सहयोगमा