२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’

२६ बैशाख २०८२, शुक्रबार १५:०२

काठमाडौँ |उमेरले चौसट्ठी वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गनासो गर्दै ठिक्क छ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना । बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै । उहाँको मेहनत गज्जबको छ । एकाबिहानै बारीमा पस्नुहुन्छ, काँक्रा, बोडी, घिरौँला, लौका, टमाटर स्याहार्दा स्याहार्दै समय बितेको पत्तो नै हुन्न ।

युक्ति मात्र हैन उहाँकै लयमा हिँडिरहेका छन् छोराबुहारी र श्रीमती पनि । परिवारको लय मिलेपछि व्यवसायमा पनि त्यसरी नै सफलता मिलिरहेको छ । चौधरी भन्नुहुन्छ,“हाल चार बिघामा मौसमीअनुसारको विभिन्न प्रकारका तरकारी उत्पादन गरिरहेका छौँ । परिवारको साथ पाएको छु बारीभरि लटरम्मै तरकारी छन्, बेच्न भ्याइनभ्याइ छ ।”

उमेरले आराम खोज्ने समयमा पनि जोस र परिश्रममा कुनै कमी छैन । परिश्रम र आत्मनिर्भरताको उदाहरण बन्दै चौधरीले यही खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । उहाँले छ वर्षअघि उहाँले एककट्ठा जमिनमा तरकारीखेती सुरु गर्नुभएको थियो । त्यसको दुई वर्षपछि रितिका कृषि फार्म दर्ता गरी औपचारिक रूपमा यही उद्यममा रमाइरहनुभएको छ । “आराम गरेर घरमा बस्ने उमेर हो तर पनि पहिलेदेखि काम गर्ने बानी बस्यो । काम नगरी बस्नै सकिँदैन”, चौधरी भन्नुहुन्छ,“सकुन्जेल काम गर्ने हो, हात खुट्टा चलेको छ, तागत छँदैछ । परिवारले साथ दिएकै छन् । जुनदिन सकिन्न त्यसदिनको कुरा बेग्लै होला ।”

उहाँको मुख्य पेसा कृषि नै हो तर घरमा केही गाई, गोरु र बाख्रा पालन गरिरहुनभएको छ । यसले कृषिमा सहयोग पुगिरहेको छ । चौधरीले भन्नुभयो, “मैले घरैमा पालेको गाई, गोरु र बाख्राबाट प्राप्त हुने गोबर सङ्कलन गर्छु । त्यही जैविक मललाई तरकारीखेतीमा प्रयोग गर्छु । रासायनिक मलको प्रयोग घटाएर स्वस्थ्य र प्राकृतिक उत्पादन गर्न सहयोग पनि पुग्छ । यसले आत्मनिर्भता र दिगोपना कायम राख्न निकै सघाउ पुगेको छ ।”

उहाँको बारीबाट उत्पादन भएको तरकारी सुनसरीका विभिन्न ठाउँ, चक्रघटी, कालाबन्जर, बाङ्गे चतरालगायत बजारमा बिक्री हुने गरेको बताउनुभयो । “तरकारी बिक्रीका लागि बजारको समस्या छैन, व्यापारीहरू आफैँ फार्ममै लिन आउँछन्, जहाँ हामीले बजार मूल्यभन्दा रु १० कममा तरकारी दिने गरेका छौँ । यसले हामीलाई सहज पनि हुन्छ । नाफा घाटाको धेरै चिन्ता गर्नुपर्दैन”, चौधरी भन्नुभयो ।
आफ्नो बारीमा हुने उत्पादनले भान्छाको आवश्यकता पूर्तिका साथै छोराछोरी, नातिनतिनालाई पढाउनेदेखि घरखर्च चलाउनसम्म सबै आवश्यकता पूरा हँुदै आएको छ । चौधरी परिवारका लागि तरकारीखेती आयआर्जनको भरपर्दो स्रोत त हुँदै हो दैनिक चार, पाँच जनाले ज्यालादारीमा काम गर्न पाएका छन् । यसले थोरै भए पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सघाउ पुगेको छ ।
पछिल्लो समय तरकारीखेतीका लागि स्थानीय नगरपालिकाले पनि बीउ अनुदानमा उपलब्ध गराउँदै आएको छ । गत वर्षमात्रै सुनसरी कृषि ज्ञान केन्द्रले रु एक लाखको अनुदान प्रदान गरेको थियो । चौधरीका अनुसार यस्ता अनुदानले तरकारीखेतीमा केही हदसम्म सहयोग पुगेको छ र उत्पादनमा थप उत्साह र सहजता मिलेको छ ।

बराहक्षेत्रका अधिकाङ्स स्थानीयवासी तरकारीखेतीमा आत्मनिर्भर छन् । बराहक्षेत्र–८ का अर्का किसान मीनकुमार उराँवले हाल १० कट्ठा जमिनमा तरकारीखेती गर्दै आउनुभएको छ । “थोरै जग्गामा तरकारीखेती गरे पनि उत्पादन राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक छ । आफ्नै बारीमा उत्पादन भएको अग्र्यानिक तरकारी उपभोग गर्न पाइने र बेचेर घरमै बसिबसी आम्दानी पनि गर्न पाइने”, उहाँले भन्नुभयो, “विभिन्न थरीका तरकारी बेचेर हरेक वर्ष रु तीन लाखभन्दा बढीको कारोबार गरिरहेको छु ।”

बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले किसानलाई तरकारीखेतीबाटै आत्मनिर्भर बनाउँदै उत्पादनमा सहजता ल्याउनेतर्फ नगरपालिका केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले स्थानीय किसानको आर्थिक विकासका लागि जैविक तरकारीखेती, सिँचाइ सुविधा र उत्पादन निर्यात गर्न यातायातको सुविधाका साथै प्रोत्साहनस्वरुप हरेक वर्ष तालिम र अनुदान प्रदान गर्दै आएका छौँ ।”

जिल्लामा हाल आठ हजार १५३ हेक्टरमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको बराहक्षेत्र, रामधुनी क्षेत्रलगायत स्थानका किसानले तरकारीखेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली