काठमाडौँ । बाँके जिल्लाको कोहलपुरमा सादा पोशाकमा खटिएका प्रहरीहरूद्वारा मोबाइल व्यवसायीसँग रकम असुलेको आरोपमा तीन जना प्रहरीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
थ्रिस्टार मोबाइल पसलका सञ्चालकले प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा र सशस्त्र प्रहरी बलका जवान रामसुन्दर चौधरीविरुद्ध उजुरी दिएका थिए। उजुरीमा उनीहरूले लागुऔषधसहितको झुटा मुद्दामा फसाउने धम्की दिँदै ५ लाख रुपैयाँ असुलेको उल्लेख गरिएको छ।
घटनामा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र पत्रकार सूर्यप्रसाद रिजालको पनि संलग्नता देखिएको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू घुमुवा सुरक्षाकर्मीहरूसँग मिलेमतोमा रहेको पाइएको हो।
पीडित व्यवसायीका अनुसार जेठ २१ गते जानकी गाउँपालिका–६, प्रिप्रहवास्थित एक खाजा पसलमा ती पाँच जनाले ५ लाख रुपैयाँ नगद बुझेका थिए। उनीहरू भारतीय नम्बर प्लेट (यूपी ५० एए ९८८५) को कारमा आएको र सोही स्थानको सीसीटीभी फुटेजमा पैसा बुझ्ने दृश्य कैद भएको पुष्टि गरिएको छ।
तीन जना घुमुवासहित पाँच जनालाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै डर,धम्की देखाई रकम असुली गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालले बताइन्। आपराधिक लाभको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको र बिहिबार अदालतबाट पनि म्याद थप भइसकेको छ।