2026-07-25 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गर्नुभएको छ ।

संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले उत्पन्न सङ्कटबाट मुलुकलाई निकास दिएको बताउनुभयो । राष्ट्रपति पौडेलले देशमा उत्पन्न भएको विषम परिस्थितिलाई दृष्टिगत गरी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनेगरी अहिलेलाई राजनीतिक निकास दिएको प्रसङ्ग उल्लेख गर्दै तोकिएको समयसीमाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी दिगो ढङ्गबाट राजनीतिक निकास दिने पक्षमा चालिएको कदमलाई सहयोग पुर्याउन सम्बद्ध सबै पक्षसँग अनुरोध गर्नुभयो ।

उहाँले अहिलेको घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भई समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “यो संविधानले नेपाली जनतालाई सर्वभौमसत्ता र स्वतन्त्रता दिएको छ । सबै जात, धर्म र सम्प्रदाय सम्बद्ध जनतालाई समान हक दिएको छ । र, समन्वय कायम गरी उन्नति गर्ने अवसर दिएको छ । हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ । यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो । त्यसैले सबैले यसको रक्षा गरौँ ।”

राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने आफ्नो दृढ विश्वास रहेको उल्लेख गर्दै आफैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ । सबैको सुझबुझ, समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ ।”

राष्ट्रपति पौडेलले हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहनेछौँ, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ, सुशासनप्रति प्रतिबद्ध रहनेछौँ र राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा तथा मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ भनी संविधान दिवसको दिनमा सबैलाई सङ्कल्प गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दल, सरकार, राज्यका निकाय र आमनागरिक सबै मिलेर हाम्रो संविधानलाई अझ जीवन्त, न्यायपूर्ण र भविष्यमुखी बनाउँदै नेपाली नागरिकले परिवर्तनका आन्दोलमा देखेका सपनाहरू पूरा गर्ने नयाँ आशा, अपेक्षा र विश्वाससहितको गौरवमय यात्रामा अघि बढ्न सकौँ भन्ने शुभकामना पनि दिन चाहन्छु । र, यस कठिन परिस्थितिमा हाम्रा सबै मित्र राष्ट्रहरूको निरन्तर सहयोग तथा सद्भावको अपेक्षा पनि गर्दछु ।”

राष्ट्रपति पौडेलले लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहनाअनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो त्यो सबैले मिलेर गरेको उल्लेख गर्दै मुलुक फेरि एकपटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनःनिर्माण गर्दै छ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ । यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो ।”

राष्ट्रपति पौडेलले दुई दिनको विरोध प्रदर्शनमा मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको उल्लेख गर्दै भन्नुभयो, “छोराछोरीको एउटा अभिभावकका रूपमा म जीवन गुमाउने ती युवाहरूका बुबाआमाको पीडा अनुभव गर्न सक्छु । त्यसक्रममा भएको राष्ट्रको अपूरणीय जनधनको क्षतिको पनि अनुमान गर्दछु । राष्ट्रको अभिभावकका रूपमा मुलुकले ती कर्णाधार युवाहरू गुमाउँदाको क्षति अनुभूत गर्न सक्छु । आज संविधान दिवसका दिन म ती सारा युवाहरूको जागरुकता र सदिच्छा स्मरण गर्न चाहन्छु, जो मुलुकमा थिति बसोस् र राष्ट्रको भविष्य उज्ज्वल होस् भनेर भदौ २३ गते सडकमा आएका थिए ।”

राष्ट्रपति पौडेलले हाम्रो संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आमनेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि हाम्रो संविधानले सदैव मार्गदर्शन गर्दछ । सबैलाई थाहा छ कि हाम्रो संविधानले लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य लिएको छ । यो लक्ष्यका लागि राज्यबाट प्राप्त हुने सेवासुविधा र अवसरमा समान पहुँच कायम गर्नु, सामाजिक सुरक्षा सुनिश्चित गर्नु र समावेशी विकासलाई गति दिनु आजको मुख्य आवश्यकता हो ।”

राष्ट्रपति पौडेलले आजको सुशासन, बेथितिको अन्त्य, रोजगारी सृजना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सकेमात्र संविधानले परिकल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव भएको भन्दै जेनजी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथितिको अन्त्य होस् भन्ने कुरालाई सबैले मनन गरी सुध्रिएर अघि बढ्न आग्रह गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा बाबुराम भट्टराई तथा जेनजी पुस्ताका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र समाजका विभिन्न क्षेत्रका महानुभावहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ