
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण परम्परागत भ्रमणहरू भन्दा भिन्न नरहेको टिप्पणी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले शाहको भ्रमणबाट विगतका प्रधानमन्त्रीहरूको भ्रमणभन्दा धेरै अपेक्षा गरिएको भए पनि परम्परागत भन्दा फरक नदेखिएको बताएका हुन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमण स्वाभाविक रूपले नेपाली जनताबाट अलि धेरै अपेक्षा गरिएको तथा पहिलेको भन्दा फरक हुन्छ भन्ने ठानिएको हो’, अध्यक्ष लिङ्देनले भने, ‘तर परम्पराभन्दा फरक देखिएन ।’
उनले लामो समयदेखि थाती रहेका सीमा समस्या, ईपीजी प्रतिवेदन, व्यापार असन्तुलन अथवा व्यापार घाटाका सम्बन्धमा ठोस कुराकानीहरू गर्न सकेको भए नेपालले थप लाभ लिन सक्ने अपेक्षा रहेको बताए । लिङ्देनले सीमा क्षेत्रमा लागूपदार्थ दुर्व्यसनको समस्याका बारेमा समेत कुनै छलफल नभएको बताए । ‘आठ बुँदे सम्झौतालाई नै उपलब्धि मान्ने हो भने पनि अब त्यसलाई व्यवहारमा आएपछि मात्रै ठोस रूपमा भन्न सकिन्छ’, लिङ्देनको भनाइ छ ।
त्यो सहयोग समेत अनुदान वा ऋण भन्ने नखुलेको भन्दै लिङ्देनले ऋण सहयोग हो भने पनि प्राथमिकता क्षेत्र छनोट हुनुपर्ने बताए । अध्यक्ष लिङ्देनले पर्याप्त गृहकार्य नभएकाले पनि अपेक्षित रूपमा सहमतिहरू हुन नसकेको हुनसक्ने औँल्याए ।‘महत्त्वपूर्ण भ्रमणमा जुन हिसाबले अन्य दलहरूसँग, विज्ञहरूसँग कुराकानी गर्नुपर्थ्यो र एउटा राष्ट्रिय एजेन्डा बनाएर जानुपर्थ्यो, त्यो नै हुन सकेन’, लिङ्देनले भने, ‘मै गर्छु, मैले नै बुझेको छु, मेरो संयन्त्र, मेरो सूचना स्रोत अथवा मेरो जानकारी नै पर्याप्त छ भन्ने हो भने पनि अब त्यो सँगसँगै इच्छाशक्ति पनि चाहिने कुराको मेल हुनुपर्छ भन्ने यसबाट प्रस्ट भयो ।’