
काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंसिर ८ गते) बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले सञ्चालन गरिरहेको ‘हामी तयार छौँ’ अभियान, बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था तथा पार्टीका आगामी कार्यक्रमलगायत विषयमा छलफलको तयारी छ । बैठकका एजेण्डा तय गर्न कांग्रेसले आज (सोमबार) केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूबीच अनौपचारिक छलफल आयोजना गरेको छ । छलफलमा भोलिको बैठकमा प्रस्तुत गरिने प्रस्ताव, प्राथमिकताका विषय तथा पार्टीले आगामी दिनमा अघि बढाउनुपर्ने कार्ययोजनाबारे छलफल हुनेछ ।
कांग्रेस सभापति गगनकुमार थापा आइतबार रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावित नागरिकसँग भेटघाटका लागि पुगेका थिए । सोही क्रममा अस्वस्थ भएपछि उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका छन् । परीक्षणपछि सभापति थापा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पदाधिकारी तथा नेताहरूसँगको अनौपचारिक छलफलमा सहभागी हुने बताइएको छ । कांग्रेस महामन्त्री डा. डिला संग्रौला पन्तले आजको अनौपचारिक छलफलपछि भोलिको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे थप स्पष्ट हुने बताएकी छन् । उनका अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्ताव र छलफलका विषयलाई अन्तिम रूप दिन आज पदाधिकारी तथा केन्द्रीय सदस्यहरूबीच विचारविमर्श हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार मंगलबारको बैठक मुख्यतः समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, ‘हामी तयार छौँ’ अभियानको प्रभावकारी कार्यान्वयन र पार्टीको आगामी कार्यदिशा तय गर्ने विषयमा केन्द्रित रहनेछ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारबाही, जनताका सरोकार तथा प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि बैठकमा छलफल हुनेछ ।