काठमाडौँ | नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौं हेर्नुस् । यहाँ अहिलेसम्म घाउ छ,’ देउवाले भने, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएन । घर जाने बाटोमा सारा मान्छे बसिदिएर, सारा मान्छे बसे हामीले बचाउन सकेनौं भने । पछि आर्मी गाडी पठाएर आर्मीको क्याम्पमा हामी बस्यौं । आर्मी क्याम्पमा मेरो श्रीमती र मेरो उपचार भएर बाँचेका हौं ।’ त्यो बेला जेनजीले नै आफूलाई बचाएको उनले सुनाए । ‘मलाई जेनजीहरूले बचाएको हो । फोटोमा देखिन्छ बचाउनेहरू । जेनजीको नाममा ५० वर्षमाथिकाहरूले ढुंगामुडा हाने,’ देउवाले भने ।
त्यसो हुनुका पछाडि धेरै ठूलो षडयन्त्र रहेको उनले बताए । ‘त्यसमा धेरै ठूलो षडयन्त्र थियो,’ उनले भने, ‘लौ ठिक छ, ओलीजी प्रधानमन्त्री थिए, मेरी श्रीमती मन्त्री थिइन । गृहमन्त्री थिए रमेश लेखक । भट्टराई निवास किन हानेको ?’
त्यो बेला बीपी कोइरालाका बुबाले बनाएको घरदेखि गणेशमान सिंहको घर हानेको उनले स्मरण गराए । ‘देशभरि पार्टी अफिसमा हानियो । यो कांग्रेसको खिलाफको षडयन्त्र हो भन्ने बुझ्नुपर्दछ,’ देउवाले भने ।