
काठमाडौँ | भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किन प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरेका थिए। प्रधानमन्त्री शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका थिए। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा नेपाल र भारतबीच विकास सहायता, ऊर्जा, जलस्रोत, पूर्वाधार, स्वास्थ्य, शिक्षा, प्रविधि र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो। दुई देशबीच आठवटा समझदारीपत्र आदानप्रदान हुनुका साथै संयुक्त वक्तव्यसमेत जारी भएको थियो।