काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवालाई राजनीतिक अभिव्यक्तिको स्तर, मर्यादा र सीमा कायम राख्न आग्रह गरेका छन्। मंगलबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले देउवा पार्टीको अभिभावक भएकोले आफ्ना असन्तुष्टि र आलोचनाहरूलाई राजनीतिक दायराभित्रै राख्न सुझाव दिए।
देउवा पार्टीको निवर्तमान सभापति मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनका एक महत्त्वपूर्ण हस्ती भएकाले आफ्नो भूमिका त्यसैअनुसार निर्वाह गर्न थापाले आग्रह गरे। “मलाई जोकरहरूले के भने भन्नेसँग सरोकार छैन,” उनले भने, “तर त्यो नमुनाहरूले, जोकरहरूले बोलेको जस्तै शेरबहादुर देउवाले बोल्न थाल्नुभयो भने मलाई चिन्ता लाग्ने भो। मेरो नेता हुन्, सभापति नि।” थापाले जोकरको संज्ञा कसलाई दिए भन्ने भाषणमा स्पष्ट खुल्दैन। तर, कांग्रेस संस्थापन इतर समूहमा रहेका नेताहरूले अहिले उनको आलोचना गरिरहेका छन्।
देउवाप्रति आफ्नो सम्मान रहेको उल्लेख गर्दै थापाले आफूहरूले देउवालाई सधैँ नेता र अभिभावकका रूपमा स्वीकार गरेको धारणा राखे। विगतमा पार्टीभित्र देउवासँग आफूले वैचारिक र सांगठनिक प्रतिस्पर्धा गरेको स्मरण गर्दै उनले भने, “तपाईंको सभापतित्वमा बसेर हामीले काम गरेका हौं। म तपाईंसँग संसदीय दलको नेता लडेको हुँ, किनकि म त तपाईं त्यो बेलामा पनि प्रधानमन्त्री हुनुहुन्न भन्ने मान्छे हुँ। तपाईं पार्टी सभापति हुनुहुन्न भनेर पनि लडेको हुँ। तर, तपाईं पार्टी सभापति भएको कुरालाई मानेर पनि बसेको हुँ।”
विशिष्ट परिस्थितिमा पार्टीको विधानसम्मत रूपमा विशेष महाधिवेशन सम्पन्न गरिएको प्रस्ट पार्दै थापाले महाधिवेशनमाथि असन्तुष्टि व्यक्त गर्ने अधिकार रहे पनि त्यो राजनीतिक हुनुपर्ने बताए। “विशेष महाधिवेशनमाथि प्रश्न उठाउनुस्, त्यसमा मेरो भन्नु केही छैन। किनकि त्यसमा तपाईंका प्रश्न वा असन्तुष्टिहरू होलान्। तर त्यो राजनीतिक हुनुपर्छ,” उनले थपे, “राजनीतिक मान्छेको बोली, वचन र असहमति पनि राजनीतिक नै हुनुपर्छ। त्यसलाई एउटा सीमा र मर्यादाभित्र राख्नुपर्छ।” हिजोको दिनमा कार्यकर्ता भएर सँगै काम गरेको र पार्टीको साथीका नाताले पनि आफूले देउवालाई सम्झाउनु कर्तव्य ठानेको थापाको भनाइ थियो। उमेर र कदको नेताले बोल्ने भाषा र व्यक्त गर्ने असहमति राजनीतिक संस्कारयुक्त हुनुपर्नेमा उनको जोड थियो।