
काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मंगलबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्न लागेको हो। बैठकको प्रारम्भमा पार्टी सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ।
बैठकमा सभापति थापाको विशेष सम्बोधन रहने भएकाले समाचार संकलन, प्रसारण तथा प्रकाशनका लागि सञ्चारकर्मीलाई उपस्थित हुन पार्टीले निमन्त्रणा गरेको छ। नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको निमन्त्रणामार्फत सञ्चारकर्मीलाई बैठकमा उपस्थितिका लागि आग्रह गरिएको हो।