
काठमाडौँ | प्रहरीले काठमाडौँको बौद्धबाट स्रोत नखुलेको रकम सहित एक जना तिब्बतीयन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ घर भई बौद्ध बस्ने ४९ वर्षीय टासी लामा छन् । उनको घरमा खानतलासी गर्दा २४ लाख ४८ हजार नेपाली रुपैयाँ भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । प्रहरीले उनको साथबाट चिनियाँ १७ सय ६७ युआन, ११ सय ७ अमेरिकी डलर र २ सय सिंगापुर डलर बरामद गरेको छ ।
आरोपीको साथबाट तिब्बतीयन शरणार्थीको परिचयपत्र पनि फेला परेको एसपी कार्कीले जानकारी दिए । उनले फरक विवरण पेस गरेर दोहोरो नेपाली नागरिकता पनि लिएको भेटिएको छ । बिहीबार पक्राउ परेका उनीमाथि अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । उनले २०५९ र २०६० सालमा साबिक इचङ्गुनारायण गाविस र परिवर्तित नागार्जुन नगरपालिका ठेगाना उल्लेख गरेर उनले दुई वटा नागरिकता लिएको भेटिएको हो । नागरिकताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।