७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार टुंगो लगाउँदै प्रमुख दलहरु

९ माघ २०७४, मंगलवार १०:५२

भीष्मराज ओझा / माघ ९, काठमाडौँ | राष्ट्रियसभा सदस्यको निर्वाचन तालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ताको मिति नजिकिएसँगै प्रमुख दल आफ्ना उम्मेदवार टुंगो लगाउन व्यस्त छन् । 

निर्वाचन आयोगका अनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ । 

निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउन नेपाली काँग्रेस पदाधिकारी बैठक आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । काँग्रेसले सोमबार प्रदेश नं ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), धर्मराज जोशी (अपांग) र शेरीराम पार्की (दलित)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको र बाँकी प्रदेशमा पनि आजै उम्मेदवारको टुंगो लगाउने पार्टीका नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । 

निर्वाचनमा काँग्रेसले सहकार्यका लागि विभिन्न प्रदेशमा फरक फरक दलसँग विभिन्न चरणमा छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो । काँग्रेसले निर्वाचनमा प्रदेश नं २ मा मधेश केन्द्रित दलसँग, प्रदेश नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक) र विवेकशील साझा पार्टीसँग सहकार्य गर्ने सम्भावना रहेको बताइन्छ । 

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आइतबार सात वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिसकेको छ । 

नेकपा (एमाले)ले सोमबार तीन प्रदेशमा पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको छ भने बाँकी उम्मेदवारको आजै टुंगो लगाउने जनाएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले प्रदेश नं ७ मा कमला ओली (महिला), इन्दु कडेरिया विष्ट (महिला), शेरबहादुर कुँवर (खुला), चक्रप्रसाद स्नेही (दलित) लाई उम्मेदवार बनाएको पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

त्यसैगरी एमालेले प्रदेश नं ६ मा कविता बोगटी (महिला), नन्दा शर्मा (महिला), नरपति लोहार (दलित), भैरवसुन्दर श्रेष्ठ (खुला) ठगेन्द्र पुरी (खुला)लाई उम्मेदवार बनाएको छ । प्रदेश नं ५ मा एमालेले रामलखन हरिजन (दलित), खिमलाल भट्टराई (खुला), मीना बुढा (महिला) र कोमल वली (महिला) लाई उम्मेदवार बनाएको छ । 

यही माघ २४ गते हुने सो निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा मात्र उम्मेदवार दिने जनाएको छ । 

राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ र सात वटा प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य जम्मा ५५० गरी कूल दुई हजार ५६ मतदाताले मताधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था छ । 

स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष छन् भने प्रदेशसभामा पुरुष ३६१ र महिला १८९ मतदाता छन् । निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने आयोगले जनाएको छ । 

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई मंगलबारसम्म उम्मेदवार छनोट गर्ने गरी जिम्मा दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

एमालेसँग संयुक्त रुपमा निर्वाचनमा जाने भएकाले माओवादी केन्द्रले १४ उम्मेदवारमात्र उठाउने भएको छ । प्रदेश इञ्चार्जलाई एक उम्मेदवार छनोट गर्न तीन तीनजनाको दरले सिफारिस गर्न दिइएको निर्देशनअनुसार सम्भाव्य उम्मेदवारको नाम प्राप्त भएको जानकारी दिँदै उहाँले आजसम्म पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाइसक्ने बताउनुभयो । 

राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीबमोजिम हुनेछ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ । 

धारा ८६ अनुसार यस सभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरी निर्वाचित ५६ जना रहन्छन् त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति