माघ २३, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टाचारको अभियोग लागेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोड गरेको छ ।
अख्तियार दुरुपयोग अनुसान्धन अायोगले खोजिरहेका शर्माको घर मंगलबार दिउँसो तोडफोड भएको हो । घरका सीसा, झ्याल, ढोकासहित अधिकांश भागमा क्षति भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलका वासिन्दा रहेका चुडामणिको घरमा नेकपाका कार्यकर्ताले ढुंगामुडा गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीले शर्मालाई 'दलाल र भ्रष्ट' भन्दै घरतिर करिव १० मिनेट जति ढुंगा बर्साएका थिए ।
यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो । उनीहरुले घरको गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् ।
कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्तिदेखि एनसेल बिक्री करमा छुट लगायत विवादीत मुद्दामा पक्राउ परेका शर्मा केहि पहिले धरौटीमा रिहा भएका थिए भने अख्तियारले फेरि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।